रविलाई ६५ र छविलाई ८८ लाख धरौटीमा छाड्न आदेश



कास्की,पुस २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ।

लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटी माग गरेको हो। गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशीसँग ८८ लाख धरौटी माग भएको छ। 

पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । लामिछानेसहितले सूर्यदर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ। लामिछाने गोरखा मिडियाको पूर्वप्रबन्ध निर्देशक र सेयर सदस्य हुन । अहिले कास्की प्रहरीको हिरासतमा रहेका गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी पूर्व प्रहरी नायव महानिरीक्षकसमेत हुन । 

लामिछानेसहितका प्रतिवादीमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएको थियो। 

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा पूरक र थप गरी अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ। प्रतिवादीसँग एक अर्ब ५१ करोड बिगो माग भएको छ। 

प्रतिक्रिया दिनुहोस्