विपिन जोशीलाई रिहा गर्न अपिल



काठमाडौँ, पुस २५  । नेपाल सरकारले इजरायल आक्रमणका क्रममा हमास समूहले बन्दी बनाएका नेपाली नागरिक विपिन जोशीलाई रिहा गर्न फेरि अपिल गरेको छ ।परराष्ट्रमन्त्री डा. आरजु राणाले सरकारका तर्फबाट हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि अनुरोध गरेकी हुन् । नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी जोशीको रिहाइका लागि थप पहल गरिदिन उनले अनुरोध गरेकी हुन् । 

परराष्ट्रमन्त्री डा. राणाले बुधबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग नेपाली विद्यार्थी विपिनको अवस्थाबारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन थप पहल गरिदिन इजरायल सरकारसँग अनुरोध गरिन । हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहँदा यस विषयमा मन्त्री राणाले राजदूत बाससँग जानकारी लिए ।

राजदूत बासले जवाफका क्रममा हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिकासमेत नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको जानकारी दिए । त्यसको पहिलो चरणमा ३४ जनालार्ई नियन्त्रणमुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको जानकारी पनि राजदूत बासले मन्त्री राणालाई दिए ।

सन् २०२३ को अक्टोबरमा इजरायलमा प्यालेस्टाइनी हमास समूहले आक्रमण गर्दा १० नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । लगत्तै उनीहरूले २५१ जनालाई बन्दी बनाएका थिए । तिनमा नेपालका विपिन जोशी पनि रहेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्