आमाको खोजीमा आमाघर



सिमपानी (मकवानपुर), पुस २५ । आमा शब्द जति ओजिलो छ, त्योभन्दा एउटी आमाबाट सन्तानले प्राप्त गर्ने वात्सल्यको महत्त्व अझ बढी छ । आमाले दिने माया, प्रेरणा, प्रेम र जीवनका बारेमा धेरै चर्चा हुन्छ र गरिन्छ तर पछिल्लो समय कतिपय सन्तानले आमामाथि गर्ने अस्वाभाविक आचरण र व्यवहारका अनेक घटना नेपाली समाजमा सार्वजनिक भइरहेका छन् ।

समाजमा आमाप्रति हेला, दुव्र्यवहार, मायाप्रेम कम हुँदै घरबाट निकालासमेत गर्ने क्रम बढिरहेको छ । यस्तो अवस्थामा घर, समाजबाट परित्यक्त आमाको आश्रयका लागि मकवानपुरमा आमाघर सञ्चालन गरिएको छ । विभिन्न कारणले आमाले बाध्यात्मक अवस्थामा सडकमा आएर सहयोगको याचना वा सडक आश्रित भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ८ स्थित सिमपानीमा आमाघर सेवा आश्रम निर्माण गरी सञ्चालन गरिएको हो ।  

बढ्दो सहरीकरण, व्यस्तता, पारिवारिक बेमेल, मातृत्वप्रेमको भावनामा ह्रासलगायतका कारण आमा परिवारको सदस्यबाट हेरचाह विमुख हुने क्रम बढ्दो छ । घर समाजबाट अपहेलित आमाहरूको महिमालाई सम्मान गर्दै उनीहरूको जीवनयापनमा सघाउने उद्देश्यले ब्रह्मकुमारी राजयोग सेवा केन्द्र मनहरीको अगुवाइमा  आमाघर निर्माण गरिएको हो ।

आश्रमका संरक्षक विजय सिग्देल सामान्य मानिस सरह जीवन बाँच्न नपाइरहेका आमाहरूलाई लक्षित गरी आश्रम सञ्चालनमा ल्याइएको बताउछन् । उनले भने, “स्वयं आफ्ना लागि केही गर्न नसक्ने अवस्था देखिएका आमाहरूको संरक्षण र पालनपोषणका लागि आमाघर आश्रयस्थल हो ।”

स्थानीय दाताहरूको भूमिदानबाट प्राप्त तीन कट्ठा क्षेत्रफलमा विसं २०७८ बाट सुरु गरिएको आश्रमको भवन निर्माणमा दाता, स्थानीय समुदायसँगै तिनै तहका सरकारको सहयोग रहेको छ । आश्रमसँगै सामुदायिक वनले प्रयोगका लागि दिएको सात हेक्टर क्षेत्रफलमा पोखरीसहितको पार्क बनाइएको छ । सय जना क्षमताको आश्रमको विस्तृत परियोजना प्रस्ताव अनुसार कुल लागत ७० करोड रुपियाँ छ । हालसम्म भवनमा साढे आठ करोड तथा पार्क र पोखरीमा समेत गरी १७ करोड ६० लाख रुपियाँ खर्च भएकोमा तीन करोड रुपियाँ शुभचिन्तकबाट सहयोग जुटेको छ । 

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले लिफ्ट निर्माण गर्न २० लाख रुपियाँ उपलब्ध गराएकोमा छिट्टै निर्माण सुरु गरिने आश्रमले जनाएको छ । २५ वटा कोठा, तीन सय जना क्षमताको हल, ध्यानकक्ष, पुस्तकालय, सङ्ग्रहालय, बैठक हल रहेको आश्रमले शान्तिधाम, तपस्याधामलगायतका संरचनासहितको सेवा उपलब्ध गराउँदै आएको छ । पछिल्लो समय आश्रम अवलोकन गर्ने व्रmम बढेको छ । पर्यटक लक्षित पोखरीमा डुङ्गा सयरको व्यवस्था गरिएको छ । साथै चारधाम निर्माण अन्तिम चरणमा र बालउद्यान विस्तारको व्रmममा छ । “सहयोगापेक्षी आमाहरूको खोजीमा छौँ,” सिग्देलले भने, “आश्रम व्यक्ति वा समूहको दानबाट सञ्चालन हुने भएकाले सहयोग स्वीकार गर्छौं र सहयोगका लागि आग्रह गर्छौं ।” 

आश्रमलाई ‘रिट्रिट सेन्टर’ को अवधारणामा विकास गर्न आवासीय प्रशिक्षण, तालिमलगायत सञ्चालन गर्ने, मौन साधना, राजयोग शिविर सञ्चालन गर्ने, प्राकृतिक चिकित्सालयको सेवा उपलब्ध गराउने, मूल्यनिष्ठा शिक्षाका प्रारम्भिक कक्षाहरू सञ्चालन गर्नेलगायतका योजना बनाइएको छ । 

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती विगतमा झाडी र लागुऔषध सेवन गर्ने स्थल रहेको यो स्थान अहिले आध्यात्मिक चिन्तन गर्ने स्थलमा परिणत भएको बताउछन् । “समाजमा लोभीपापी बढेका छन्, यस्तो घर बनाउन नपरे हुन्थ्यो भन्ने लाग्छ तर समाजमा आमालाई तिरस्कार गर्ने प्रवृत्ति बढ्दो रहेकाले दुःख पाएका र अपहेलितलाई सम्मानजनक जीवनयापन गर्न आमाघर बनाइयो । आश्रमले मनहरीको पहिचान उच्च बनाउन सहयोग पुग्ने छ,” उनले भने । आश्रममा ८० वटा वातानुकूलित शय्या छन् । हाल आश्रममा नौ जना महिला र सात जना पुरुष आश्रित छन् भने चार जना अभियन्ता छन् । आश्रमको क्षमता अनुसार सेवा दिन सकिएको छैन । 

चार सयभन्दा बढी आजीवन सदस्य रहेको आश्रमको नाममा स्थापना गरिएको अक्षयकोषमा ४२ लाख रुपियाँ जम्मा भएको छ । आमाघर आश्रम व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र उप्रेती आश्रममा आध्यात्मिक पर्यटनको सम्भावना रहेको भन्दै सुविधा र सम्पन्नता भएर पनि मानसिक रूपमा समस्या परेकाहरूलाई आश्रय दिने बताए ।

उनले बहुजन हिताय र बहुजन सुखायका लागि आश्रम बनाउन स्रोत जुटेको बताउँदै ध्यान योगको माध्यमबाट समाज परिवर्तनका लागि शिविर सञ्चालन गरिने बताए । आध्यात्मिक जीवन बिताउनेका लागि उपयुक्त स्थल आश्रम हुने उनले बताए । बालबालिकालाई आमाको महत्त्वका बारेमा जानकारी गराउने, खुसी र सुखी जीवनका लागि आध्यात्मिक जागरणको कार्यक्रम गर्ने र असहायलाई आश्रय दिने आश्रमले योजना बनाएको छ । आश्रम आध्यात्मिक जीवन बिताउन चाहनेका लागि उपयुक्त गन्तव्य स्थल बन्ने भएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्