साढे ४ खर्बको मुगु कर्णाली जलविद्युत् आयोजना बनाउन चौधरी समूहको मात्र आवेदन
काठमाडौं,पुस २५ । एक हजार ९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न बन्ने कम्पनीमा ५१ प्रतिशत शेयर स्वामित्व लिन चौधरीसमूह मात्र अघि सरेको छ ।
विद्युत् उत्पादन कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त परियोजना सार्वजनिक–निजी साझेदारीअनुसार विकास गर्न ५१ प्रतिशत शेयर स्वामित्व लिन पहिलो चरणमा नेपाली नागरिक र नेपाली नागरिक प्रवद्र्धक रहेको कम्पनी वा संगठित संस्थासँग प्रस्ताव माग गरेकोमा चौधरी समूहअन्तर्गतको सीजी इनर्गो प्रालिले मात्र आवेदन दिएको छ ।
सीजी इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज नामको कम्पनीको नाम परिवर्तन गरी सीजी इनर्गो राखिएको चौधरी ग्रूपको एक स्रोतले आर्थिक अभियानलाई बतायो । ‘यसमा सीजी इनर्गोबाहेक अन्य कम्पनीको आवेदन परेन,’ विद्युत् उत्पादन कम्पनी स्रोतले भन्यो, ‘आयोजना निर्माणको लगानी साझेदारीसम्बन्धी कार्यविधिमा एउटा मात्रै कम्पनीले प्रस्ताव पेश गरे पनि मान्य हुने व्यवस्था छ ।’
यसको अर्थ उक्त परियोजना बनाउन सीजी इनर्गो छनोट हुने प्रबल सम्भावना रहेको विद्युत् उत्पादन कम्पनीका अधिकारी बताउँछन् । एउटै मात्र आवेदन परे पनि त्यसको मूल्यांकन हुने र मूल्यांकनमा उत्तीर्ण भएमा सीजी इनर्गोले उक्त परियोजना बनाउन खडा गरिने कम्पनीमा बहुमत शेयर लिई परियोजना विकास गर्न सक्नेछ ।
कम्पनीका सूचना अधिकारी नवीन पौडेलका अनुसार आवेदन दिएका कम्पनीहरूको वित्तीय अवस्था र लगानीको सुनिश्चितता, कम्पनीको नेटवर्थ, अडिट रिपोर्ट र वार्षिक कारोबार आदि हेरिन्छ । ‘मुख्य रूपमा लगानी गर्न सक्ने र आर्थिक हिसाबले सबल कम्पनीलाई हामीले अफर गरेको हो,’ उनले भने ।
विदेशी कम्पनीसँग साझेदारी गरेर बनाउन खोज्दा फुकोट कर्णाली जलविद्युत् आयोजनामा स्थानीयको विरोध भइरहेको छ । यस्ता पक्षलाई पनि दृष्तिगत गर्दै कम्पनीले आन्तरिक स्रोतबाटै निर्माण गर्ने भनेर आशयपत्र आह्वान गरेको उनले बताए ।
चौधरीसमूहको अतिरिक्त भारतीय कम्पनी अडानी समूहले पनि उक्त परियोजना बनाउन इच्छा देखाएको विद्युत् उत्पादन कम्पनीका एक उच्च अधिकारीले हालै आर्थिक अभियानलाई बताएका थिए । उनका अनुसार चौधरीसमूह र अडानी समूहको टीम नै विद्युत् उत्पादन कम्पनीको कार्यालयमा आएर छलफल गरेका थिए ।
विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा रहेको उक्त परियोजना सार्वजनिक–निजी साझेदारीको अवधारणामा विकास गर्न ५१ प्रतिशत शेयर स्वामित्व लिन पहिलो चरणमा नेपाली नागरिक र नेपाली नागरिक प्रवद्र्धक रहेको कम्पनी वा संगठित संस्थासँग प्रस्ताव माग गरिएको थियो ।
पहिलो चरणको प्रस्ताव दुईपटक आह्वान गर्दा पनि योग्य प्रस्ताव छनोट हुन नसके विदेशी लगानीकर्ता र विदेशी लगानीकर्ता भएको संयुक्त उपक्रमबाट दोस्रो चरणको प्रस्ताव आह्वान गर्नुपर्ने आयोजना निर्माणको लगानी साझेदारीसम्बन्धी कार्यविधिमा उल्लेख छ ।
कम्पनीले गत मङ्सिर २३ मा सार्वजनिक सूचना जारी गर्दै १५ दिनको म्याद दिएर मुगु कर्णाली र किमाथांका अरुणका लागि प्रस्ताव आह्वान गरेको थियो । पुस ६ गते अर्को सूचना जारी गरी १५ दिन अर्थात् मंगलवारसम्म म्याद थप गरिएको थियो । मंगलवार म्याद सकिएसँगै कम्पनीले आवेदन दिएका कम्पनीहरूको प्रस्ताव खोलेको हो । सम्भाव्यता अध्ययनको काम भइरहेको मुगु कर्णाली परियोजना निर्माण गर्न ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । मुलुकको गेम चेन्जर परियोजनाको रूपमा पनि हेरिएको यो आयोजनाले वार्षिक ६ हजार २९१ दशमलव ८ गिगावाट आवर विद्युत् उत्पादन गर्न सक्छ ।
कर्णाली नदीमा पहिचान भएको यो जलविद्युत् आयोजना नदीको सबैभन्दा माथिल्लो बेल्टमा निर्माण हुनेछ । यो आयोजनाको बाँध नदीको सतहबाट करीब २८३ मीटर उचाइको हुनेछ । आयोजना कर्णालीका कालीकोट, बाजुरा, मुगु, हुम्ला र जुम्ला गरी ५ जिल्लामा निर्माण हुनेछ । उक्त परियोजना बनाउन विगतमा नेपालले चीनलाई आग्रह गरेको थियो । अर्कोतर्फ ४५४ मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत् आयोजनामा निजीक्षेत्रबाट साझेदारी गर्न पाँच कम्पनीले आवेदन बुझाएका छन् । बेला नेपाल इन्डस्ट्रिज प्रालि, भिजन इनर्जी एन्ड पावर लिमिटेड, एनजे हाइड्रो इनर्जी प्रालि, नोबल ग्रूप अफ हाइड्रो इनर्जी प्रालि र अनक हाइड्रोपावर कम्पनी प्रालिले आवेदन दिएको विद्युत् उत्पादन कम्पनी स्रोतले जानकारी दिएको छ ।