मधेशमा शीतलहरको कहर : वीरगञ्जका विद्यालय ३ दिन बन्द, राहतमा एकद्वार प्रणाली अपनाइने
वीरगञ्ज,पुस २५ । तराई–मधेशका जिल्लामा विगत एक सातादेखि चलेको शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । शीतलहर र चिसो हावाका कारण जनजीवन प्रभावित हुन थालेपछि पर्साका विद्यालयसमेत बन्द गरिएको छ ।
बुधवारदेखि ३ दिनसम्मका लागि जाडो बिदा दिइएको हो । चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रमा विद्यालय तीन दिन बिदा दिएको महानगरले बताएको छ । चिसोका कारण बालबालिका बढी प्रभावित हुनसक्ने सम्भावनालाई ध्यानमा राखी विद्यालय बिदा दिइएको हो ।
विद्यार्थीहरूलाई गृहकार्य दिएर घरमै अध्ययन गर्ने वातावरण बनाउन विद्यालयहरूलाई निर्देशन दिइएको महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले जानकारी दिए । अहिले दिइएको बिदा वर्षे बिदाबाट कटौती गरिने पनि महानगरले जारी गरेको निर्देशनमा उल्लेख छ ।
यसैबीच शीतलहरका कारण विपन्न वर्गमा मानिस बढी प्रभावित भएपछि पर्सामा राहत वितरण गर्ने सर्वपक्षीय निर्णय भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जाडोले बढी प्रभावित पर्साका विपन्न परिवारलाई कम्बल, बालबालिकाका लागि न्यायो लुगा, जुत्तालगायतका सामग्री बितरण गर्ने निर्णय गरेको हो ।
राहतको प्रभावकारिताका लागि एकद्वार प्रणालीबाट वितरण गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । कुनै पनि संस्था वा स्थानीय पालिकाहरूले जिल्लामा राहत बितरणका लागि प्रशासनले बनाएको संयन्त्रमा सूचीकरण हुनुपर्ने छ ।
राहत वितरणलाई सहजीकरणका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल पत्रकार महासंघ, वीरगञ्ज उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटीलगायतका सरोकारका पक्षको सहभागितामा ‘क्विक रेस्पोन्स टिम’ बनाइएको छ ।
जाडोबाट बच्न ठाउँठाउँमा आगो ताप्ने व्यवस्थाका लागि डिभिजन वन कार्यालयले दाउरा उपलब्ध गराउने भएको छ ।रेडक्रस सोसाइटी, नेपाली सेना, वीरगञ्ज उद्योग वाणिज्य संघ, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रलगायतले तत्कालका लागि कम्बल उपलब्ध गराउने र अन्य संघसंस्था, प्रतिष्ठान र पालिकाहरूलाई अन्य राहत सामग्रीका लागि आह्वान गर्ने निर्णय भएको छ । वीरगञ्ज महानगरले पनि नगरक्षेत्रमा विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने प्रबन्ध मिलाएको नगर प्रहरी इन्चार्ज हरि भुसालले जानकारी दिए ।