कोभिड-१९ जस्तै जोखिमपूर्ण छ चीनमा देखिएको एचएमपीभी संक्रमण ?
काठमाडौं,पुस २५ । चीनको राजधानी बेइजिङमा फ्लुजस्तो ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) संक्रमण बढेको छ, विशेषगरी बालबालिकामा यस्तो संक्रमण देखिएको छ ।
हालैका हप्ताहरूमा चीनका अस्पतालहरू मास्क लगाएका बिरामीले दृश्य सामाजिक सञ्जालमा भाइरल भएका छन्, जसले अर्को महामारीको चिन्ता बढाएको छ।
चीनले बालबालिकामा एचएमपीभी संक्रमण बढेको स्वीकारेको छ । तर, एचएमपीभी संक्रमण कोभिड–१९ जस्तो नभएको जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।
यो भाइरसको संक्रमण दशकौंअघि देखिएको हो । जनस्वास्थ्य विज्ञका अनुसार लगभग हरेक बच्चा आफ्नो पाँचौं जन्मदिनसम्ममा कम्तीमा एक पटक यसबाट संक्रमित हुन्छन् ।
तथापि, केही धेरै साना बच्चाहरू र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूमा यसको संक्रमणले गम्भीर रोग निम्त्याउन सक्छ।
एचएमपीभी के हो ? यो कसरी फैलिन्छ ?
एचएमपीभी एक भाइरस हो, जसले माथिल्लो श्वास नलीमा संक्रमण निम्त्याउँछ ।
नेदरल्याण्ड्समा सन् २००१ मा पहिलो पटक पहिचान गरिएको यो भाइरस मानिसबीचको प्रत्यक्ष सम्पर्कबाट वा कसैले दूषित सतह छुँदा सर्छ । संक्रमण देखिएका अधिकांश बिरामीमा खोकी लाग्ने, ज्वरो आउने र नाक बन्द हुने जस्ता लक्षण देखिन्छन् ।
सिंगापुरका संक्रामक रोग चिकित्सक सु ली याङका अनुसार दुई वर्षमुनिका बालबालिकासहित अति कम उमेरका बालबालिकामा यो भाइरसको जोखिम बढी हुन्छ।
यसको संक्रमणले गम्भीर रोग निम्त्याउँछ, जसबाट फोक्सो प्रभावित भइ सास फेर्न गाह्रो हुन्छ । ‘धेरैलाई अस्पतालको हेरचाहको आवश्यकता पर्नेछ । तर, संक्रमणबाट मर्ने जोखिम कम हुन्छ,’ डा. सुले भने।
चीनमा किन बढ्यो संक्रमण ?
धेरै श्वास संक्रमणहरू, जस्तै : एचएमपीभी जाडो र वसन्तऋतुको अन्तमा सबैभन्दा सक्रिय हुन्छ । विशेषज्ञहरूका अनुसार चिसोयाममा भाइरसहरू राम्रो तरिकाले जीवित रहन्छन् र तिनीहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छन् । किनकि मानिसहरू घरभित्र धेरै पटक बस्छन्।
उत्तरी चीनमा देखिएको एचएमपीभी संक्रमण मार्चसम्म रहने अपेक्षा गरिएको छ।
अस्ट्रेलियाको फ्लिन्डर्स युनिभर्सिटीका महामारी विशेषज्ञ ज्याकलिन स्टिफन्सका अनुसार वास्तवमा उत्तरी गोलार्द्धका धेरै देशहरूमा एचएमपीभीको प्रकोप बढेको छ। उनले भनिन्, ‘यो चिन्ताको विषय भए पनि जाडोयाममा देखिएको सामान्य मौसमी वृद्धिका कारण यसको व्यापकता बढेको हुन सक्छ ।’
अमेरिका र बेलायतका स्वास्थ्य अधिकारीहरूको तथ्याङ्कअनुसार यी देशहरूमा पनि गत वर्षको अक्टोबरदेखि एचएमपीभीका घटनामा वृद्धि भइरहेको छ।
के एचएमपीवी कोभिड-१९ जस्तै हो ? हामी कत्तिको चिन्तित हुनुपर्छ ?
विशेषज्ञहरूका अनुसार एचएमपीभीको संक्रमण कोभिड–१९ जस्तै खतरनाक छैन । एचएमपीभी विश्वव्यापीरूपमा छ । र, यसको संक्रमण दशकौंअघि देखिएको थियो । ‘यसको अर्थ संसारभरका मानिसहरूमा केही हदसम्म रोग प्रतिरोधात्मक क्षमता विद्यमान छ,’ डा. सुले भने।
इङ्गल्याण्डको युनिभर्सिटी अफ इस्ट एन्ग्लियाका मेडिकल प्रोफेसर पल हन्टर भन्छन्, ‘लगभग हरेक बच्चालाई उनीहरूको पाँचौं जन्मदिनसम्ममा एचएमपीभीको कम्तीमा एउटा संक्रमण हुन्छ र हामी जीवनभर धेरै पटक पुन: संक्रमण हुने आशा गर्न सक्छौं। त्यसैले समग्रमा भन्नुपर्दा, मलाई लाग्दैन कि अहिले योभन्दा गम्भीर विश्वव्यापी मुद्दाको कुनै सङ्केत देखिएको छ।’
यद्यपि, डा. यसको संक्रमण हुन नदिनका लागि सावधानी अपनाउन आग्रह गरेका छन् । उनले भीडभाड हुने ठाउँमा मास्क लगाउन, सम्भव भएसम्म भीडभाडमा नजान, हातको सरसफाइमा ध्यान दिन र फ्लुको भ्याक्सिन लगाउन सुझाएका छन्। बीबीसी