नयाँ वर्षको अवसरमा दुबईमा मधेशी एकता समाजको भव्य कार्यक्रम, नयाँ कार्यसमिति चयन



काठमाडौं, पुस २४ । मधेशी एकता समाज, यूएईले दुबईको जाबिल पार्कमा नयाँ वर्ष २०२५ को शुभ अवसरमा दुई दिनअघि भव्य कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमले मधेशी समुदायको एकता, सांस्कृतिक पहिचान र समग्र प्रगतिका लागि नयाँ ऊर्जा थपेको छ । श्रमिक, व्यवसायी, विद्यार्थी, आगन्तुक र बौद्धिक क्षेत्रका विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ विशेष बनाएको थियो ।

मधेशी एकता समाजले सन् २०२१ मा स्थापनापछि हरेक वर्ष नयाँ कार्यसमितिको चयन गर्दै आएको परम्परालाई निरन्तरता दिएको छ । कार्यक्रमले रोशन मार्र्कसिस्टको नेतृत्वमा समाजको युएई च्याप्टरको नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको महासचिवमा एस के यादव, सहअध्यक्ष एवं प्रवक्तामा शैलेन्द्र राय,  अर्का सहअध्यक्षमा राम साह चयन गरिएका छन् । यस्तै एकता समाजको मधेशी व्यवसायी परिषद्को संयोजकमा कविन्द्र यादव र युवा संयोजकमा आदित्य अटललाई चयन गरिएको छ ।

त्यस अवसरमा एकता समाजका संस्थापक डाक्टर रविन्द्र कुमार यादव र  अफजल हुसैन (गुलजार)लाई मधेशी समुदायमा उल्लेखनीय योगदान दिएकोमा विशेष सम्मान गरिएको थियो । त्यस्तै, व्यवसायीहरु कविन्द्र यादव, बिनेश यादव र गणेश पुर्बे तथा प्रमुख सल्लाहकार र संस्थापक सदस्यहरू मुकेश झा र तनवीर आलमलाई गम्छा ओढाएर सम्मान गरिएको थियो । यस्तै, निवर्तमान अध्यक्ष धर्मेन्द्र गोहिबार यादवलाई सफल नेतृत्वका लागि धन्यवाद दिइएको थियो ।

आफ्नो मन्तव्य राख्दै संस्थापक डाक्टर रविन्द्र यादवले मधेशी एकता समाजको स्थापना, उद्देश्य र विगतका सफलताबारे प्रकाश पार्दै मधेशी समुदायलाई एकता र सामूहिक प्रगतिका लागि माथि उठ्न आह्वान गरे । डाक्टर यादवले संयुक्त राष्ट्र संघको अल्पसंख्यक मञ्चमा हालैको आफ्नो सहभागिता र काठमाडौंमा भएको एकता समाजको अन्तरक्रिया कार्यक्रमका बारेमा जानकारी गराए ।

उहाँले मधेशी समुदायको सांस्कृतिक पहिचानको संरक्षण र सुन्दर भविष्यका लागि मधेशी एकता समाजको सन्देश नयाँ पुस्तामा पुर्याउन जोड दिए । मधेशी एकता समाजले आफ्नो स्थापना कालदेखि नै नेपाली मधेशी समुदायका लागि छाता संगठनको रूपमा कार्य गर्दै आएको छ र यसको गतिविधि हालसम्म विश्वका प्रायः सबै देशमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्