मैले ओलीमाथि लगाएको आरोप सबै सत्य छन्, पुष्टि गर्न सक्छुः भीम रावल
काठमाडौ,पुस २४ । पूर्वउपप्रधान एवं गृहमन्त्री डा.भीम रावलले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि आफूले लगाएको सबै आरोप पुष्टी गर्नसक्ने बताएका छन् । मंगलबार एक टेलिभिजनको कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले लगाएको आरोपको बारेमा ओली वा ओलीले पठाएका जोकोही व्यक्तिसँग डिबेट गर्न तयार रहेको उनले बताए ।
एमालेबाट निष्काशित भएपछि रावलले ओलीमाथि विभिन्न गम्भीर आरोप लगाएका थिए । आफूले कहिल्यै पनि झुटा नबोलेको र आगामी दिनमा पनि झुट नबोल्ने बताए । उनले भने, ‘मैले त्यो पत्रकार सम्मेलनमा जतिकुरा लेखेको छु, सबैको तिथिमिति दिएको छु । यदि तपाईँ सहमत गराउन सक्नुहुन्छ भने नेकपा (एमाले) का केपी ओलीजी वा उहाँले खटाएको, उहाँले सबैभन्दा तिखर, विलक्षण भनेको व्यक्ति कोही आउन, मेरो खण्डण गरोस् । म चुनौति दिन चाहन्छु् । मैले तथ्यहीन कुरा एउटा गरेको छैन । आगामी दिनमा पनि गर्दिनँ ।’
साथै, उनले आफ्नो ओलीप्रति कुनै रिस, डाहा नरहेको बताए । उनले आफू एक देशभक्त नागरिक भएको नाताले अन्याय, अत्याचार, मनपरी र मर्यादाविपरीतका अनेक काम र भ्रष्टाचारीहरुको विरुद्ध संघर्ष गर्दै आएको बताए । नेता रावलले ओलीले भ्रष्टाचारी र अपराधीहलाई काखी च्यापेको आरोप लगाए ।
साथै, उनले आफूलाई ओलीलगातका नेताहरुले राजावादीहरुको गोटी बन्न लाग्यो भन्दै आरोप लगाएको स्मरण गराउँदै त्यसको खण्डण गरे । निर्वाचनको बेलामा राप्रपा, राप्रपा नेपाललगायतका दलहरुसँग गठबन्धन गरेको बताउँदै नेता रावलले बरु एमाले अध्यक्ष ओलीलाई राजावादीको गोटी भन्न सुहाउने बताए ।
्नेता रावलले एमालेमा अहिले मार्क्सवाद र लेलिनवादको कुनै रङ्ग नरहेको बताए । उनले भने, ‘नेकपा (एमाले) बामालेमा परिणत भएको छ । मार्क्सवाद, लेलिनवादको कुनै रङ्ग छैन त्यहाँ ।’