पुन: उडान सुचारु गर्ने प्रयासमा सौर्य एयरलाइन्स
काठमाडौं,पुस २४ । गत साउन ९ गते भएको विमान दुर्घटनापछि उडान सेवा ठप्प भएको वायुसेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले पुन: सेवा सुचारु गर्न प्रक्रिया अघि बढाएको छ । पोखरा उडानका क्रममा उड्नेबित्तिकै सौर्यको सीआरजे–२०० सिरिजको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलनजिकै दुर्घटना हुँदा कम्पनीका प्राविधिक जनशक्ति (कर्मचारी) सहित १८ जनाको निधन भएको थियो । त्यसपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले यसको उडान अनुमतिपत्र (एओसी) निलम्बनसमेत गरेको थियो ।
सौर्य एयरलाइन्सले हाल पुन: उडान सेवा सुचारु गर्न आवश्यक प्रक्रिया अघि बढाएको हो । कम्पनीका अध्यक्ष दीपक पोखरेलले सेवा सुचारु गर्न जनशक्ति भर्ती गर्नेदेखि नयाँ जहाज खरीदको प्रक्रिया अगाडि बढाएको बताए । ‘पुन: उडानका लागि आवश्यक कागजातहरू प्राधिकरणलाई बुझाइसकेका छौं,’ उनले भने । उनका अनुसार प्राधिकरणबाट अनुमति पाए आउँदो माघ १० गतेभित्र उडान शुरू गर्ने तयारी कम्पनीको छ । प्राधिकरणले पनि सौर्यले पुन: अनुमतिको प्रक्रिया अगाडि बढाएको पुष्टि गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले कम्पनीले सेवा पुन: सुचारु गर्न नियामक निकायबाट अनुमतिका लागि आवश्यक प्रक्रिया शुरू गरेको तर प्राधिकरणले निर्णय गरिनसकेको जानकारी दिए ।
‘एओसी निलम्बनमा परेको कम्पनीलाई उडान अनुमति दिने अवस्था आइसकेको छैन,’ उनले भने । ‘सौर्यसँग आवश्यक संख्यामा जनशक्ति भए/नभएको, जहाज उडानयोग्य भए/नभएको जस्ता विषय पहिला हेरिनुपर्छ ।’
पुरानो एयरलाइन्स भएकाले सौर्यले दुईओटा जहाज हुँदासमेत उडान गर्न भने पाउनेछ । प्राधिकरणका अनुसार नयाँ कम्पनी भए उडान सेवा शुरू गर्न न्यूनतम तीनओटा जहाज हुनुपर्छ ।
साउनमा जहाज दुर्घटना हुँदा सौर्यले थुप्रै प्राविधिक जनशक्ति गुमाएको थियो । जहाजको सम्पूर्ण मर्मतसम्भार (सी–चेक)का लागि पोखरातर्फ जाँदा भएको उक्त दुर्घटनामा कम्पनीका अधिकांश प्राविधिक कर्मचारी र इन्जिनीयर गुमाएको थियो । उक्त दुर्घटनामा जहाजका क्याप्टेन मनीषरत्न शाक्य भने बाँच्न सफल भएका थिए ।
कम्पनीका सातओटा विभाग प्रमुखको निधन भएसँगै खाली रहेको जनशक्ति पूर्तिको काम अहिले गरिरहेको पोखरेलले बताए । त्यसका लागि सौर्यले आन्तरिकदेखि विदेशबाट जनशक्ति नियुक्ति गरेर उनीहरूलाई आवश्यक तालीम तथा प्रशिक्षण दिइसकेको उनले बताए । ‘नयाँ प्राविधिक कर्मचारी राख्न र उनीहरूलाई तालीम दिन नै ३/४ महीना लागेको हो,’ अध्यक्ष पोखरेलले भने, ‘कम्पनीले आवश्यक संख्यामा जनशक्ति तयार पारेर प्राधिकरणलाई जानकारी गराएको र उडान अनुमति मागेको छ ।’
उनका अनुसार माघमा उडान गर्ने तयारीअनुसार अहिले स्वदेशी एयरलाइन्सबाट र बाहिरबाट पनि प्राविधिक ल्याइसकिएको छ । ‘यती, बुद्ध, श्री एयरलाइन्स र भारतबाट इन्जिनीयर ल्याइएको छ,’ उनले भने, ‘अहिले सम्पूर्ण कर्मचारी पूर्ति भइसकेको छ भने ४/५ दिनमा प्राधिकरणले कम्पनीको अडिट गर्नेछ । साथै अहिले हामीले कम्पनीको डिपार्टमेन्ट हेड नै ६ जना नियुक्त गरेका छौं । त्यसमध्ये पाँच जना क्याप्टेन र पाँच जना को–पाइलट छन् ।’ उनका अनुसार कर्मचारी ल्याउनदेखि तालीमलगायत कामका लागि साढे २ करोड रुपैयाँ खर्च भइसकेको छ । बम्बार्डियरको सीआरजे–२०० सिरिज जहाजबाट सेवा दिइरहेको उक्त कम्पनीले अब भने एटीआर जहाजबाट दिने तयारी गरेको छ । तीनओटा सीआरजे सिरिजका जहाजमध्ये एउटा दुर्घटनामा क्षतिग्रस्त भएपछि कम्पनीसँग हाल उक्त सिरिजका दुईओटा जहाज छन् । त्यसमध्ये एउटा चालू अवस्थामा रहेको र अर्काे मर्मतसम्भारपछि उडान गर्ने अवस्थामा रहेको कम्पनीले जानकारी दिएको छ ।
यसैगरी कम्पनीले एयरबसको एटीआर–६०० सिरिजका जहाज भित्त्याउने तयारी गरेको छ । क्यानेडेली बम्बार्डियर सीआरजे–२०० सिरिजका जहाजपछि सौर्यले अहिले फ्रान्सेली एयरबसको एटीआर–६०० सिरिजका तीनओटा नयाँ एटीआर जहाज बुक गरेको छ । ‘एटीआर–६०० सिरिजको जहाज नेपालमा पहिलोपटक प्रवेश गराउन लागिएको छ,’ पोखरेलले भने, ‘५०० करोड (५ अर्ब) रुपैयाँभन्दा बढी लगानीमा ल्याउने गरी तीनओटै जहाज बुक गरिसकेका छौं ।’ अहिले भएकै जहाज उडान भएपछि तीनओटा ती जहाज ल्याउने प्रक्रिया थालिने भन्दै उनले छिटोमा १० महीनाभित्रमा तीनओटै जहाज ल्याइने जानकारी दिए । भारतीय साझेदार कुवेर ग्रूपको सौर्य एयरलाइन्समा ४९ प्रतिशत शेयर छ । त्यसैले गर्दा पनि समयमै पारिश्रमिक दिन र नयाँ एयरलाइन्स ल्याउन सहज भएको पोखरेलको भनाइ छ । नेपाली साझेदारसमेत रहेका पोखरेलले कम्पनीमा केही प्रतिशत शेयर अन्य नेपालीको भए पनि बाँकी ससानो अंशमा रहेको शेयर पनि खरीद गर्ने जानकारी दिए ।