क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो- प्रशंसादेखि पतनसम्म
क्यानडा,पुस २४ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो नेतृत्वप्रति बढ्दो असन्तोषको सामना गर्दै सोमवार जनवरी ६ मा आफ्नो राजीनामाको घोषणा गरेका छन् । उनको सरकारमा सहभागी पूर्व वित्तमन्त्री क्रिस्टिया फ्रिल्यान्डले डिसेम्बर १६ मा ट्रुडोको क्याबिनेटबाट राजीनामा दिएकी थिइन् ।
उनले ट्रुडोले लिएका केही आर्थिक प्राथमिकताहरूको बारेमा आलोचना गर्दै ‘क्यानडा महँगो राजनीतिक चालबाजी सहन सक्दैन’ भनेकी थिइन् । र, उनका अर्थमन्त्रीको अचानक बहिर्गमनले उनको सरकारभित्र बढ्दो उथलपुथलको हुने अनुमान समेत भएका थिए ।
‘आन्तरिक द्वन्द्वले गर्दा म अर्को चुनावका लागि उत्तम विकल्प हुन सक्दिनँ,’ ट्रुडोले भनेका छन् । उनले लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्रीको रूपमा रहिरहने योजना बनाएका छन् ।
यो विषयका जानकार एक अधिकारीका अनुसार जनवरी २७ मा पुनः शुरू हुने भनिएको संसद् मार्च २४ सम्मका लागि स्थगित हुनेछ। अधिकारीले सार्वजनिक रूपमा यस विषयमा बोल्ने अनुमति नभएकाले आफ्नो नाम भने खुलाएनन् । प्रमुख विपक्षी दलले संसद् पुनः सुरु भएपछि अविश्वासको प्रस्तावमा लिबरल पार्टीलाई अपदस्थ गर्ने योजना रहेको बताउँदै आएका छन्।
कन्जरभेटिभ पार्टीको १० वर्षे शासनपछि ट्रुडो सन् २०१५ मा सत्तामा आएका उनले देशलाई उदारवादी दिशातर्फ डोर्याएको भन्दै प्रशंसा समेत पाएका थिए । ५३ वर्षीय ट्रुडो पछिल्ला केही वर्षमा खाद्यान्न र आवासको बढ्दो लागत र बढ्दो आप्रवासन लगायतका विभिन्न मुद्दामा मतदाताहरूबीच अलोकप्रिय हुँदै गएका थिए ।
राजनीतिक उथलपुथल क्यानाडाका लागि अन्तर्राष्ट्रिय रूपमा कठिन क्षणमा आएको छ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको तुलनामा क्यानडाबाट अमेरिका भित्रिने आप्रवासी र लागूपदार्थको प्रवाहलाई सरकारले नरोकेमा क्यानाडाका सबै सामानमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका छन् । क्यानाडा अमेरिकाको तेल र प्राकृतिक ग्याँसको एक प्रमुख निर्यातकर्ता हो । अमेरिका स्टील, एल्युमिनियम र अटोको लागि यसको उत्तरी छिमेकीमा निर्भर गर्दछ।
ट्रुडोमाथि पछिल्ला केही हप्ता राजीनामाको दबाब आइरहेको थियो, तर उनी मौन रहेका थिए। उनको लामो समयको मौनताले उनी कमजोर स्थितिमा रहेको अनुमान गरिएको थियो ।
मन्त्रीले राजीनामा दिएको केही समयपछि आएको यो कदमले देशलाई स्तब्ध तुल्यायो र बढ्दो अलोकप्रियताले ट्रुडो आफ्नो जागिरमा कति लामो समयसम्म रहन्छन् भन्ने प्रश्न उठाएको थियो। मन्त्री फ्रिल्याण्ड र ट्रुडोबीच हालै घोषणा गरिएका दुई नीतिहरूमा असहमति थियो।
बच्चाहरूको लुगादेखि बियरसम्मका सामानहरूमा अस्थायी विक्री कर छुट, प्रत्येक नागरिकलाई रकम पठाउने योजनामा असहमति रहेको थियो । उपप्रधानमन्त्रीसमेत रहेकी फ्रिल्यान्डले क्यानडाले करको खतराको सामना गर्दै ‘महँगा राजनीतिक नौटंकी’ बेहोर्न नसक्ने बताएकी थिइन् । ‘हाम्रो देशले गम्भीर चुनौतीको सामना गरिरहेको छ,’ फ्रिल्यान्डले आफ्नो राजीनामा पत्रमा लेखेकी छन् ।
ट्रुडोले लिबरल पार्टीका सदस्यहरूबीच बढ्दो असन्तोषका बाबजुद पनि अर्को वर्षको चुनावमा चौथो कार्यकालका लागि चुनाव लड्ने योजना बनाइरहेका थिए। टोरन्टो र मोन्ट्रियलका दुई जिल्लामा वर्षौंदेखि हुँदै आएको विशेष निर्वाचनमा पार्टीले पराजय भोगेको थियो । एक शताब्दीभन्दा बढी समयदेखि क्यानडाका कुनै पनि प्रधानमन्त्रीले लगातार चार पटक जितेका छैनन् ।
पछिल्लो सर्वेक्षणका आधारमा ट्रुडोको सफलताको सम्भावना क्षीण देखिएको थियो । नानोसको पछिल्लो सर्वेक्षणमा लिबरलले कन्जरभेटिभलाई ४७ देखि २१ प्रतिशतले पछि पारेको छ । लगभग एक दशकको शासनकालमा ट्रुडोले आफ्नो उदारवादी सोचलाई अँगालेका थिए । अन्य देशले आफ्नो सीमामा कडाइ गर्न खोजिरहेका बेला उनले आप्रवासनको पक्षमा बोलेका थिए ।
उनले विविधता र लैङ्गिक समानताको वकालत गर्थे भने क्याबिनेटमा पुरुष र महिला समान नियुक्त गरेका थिए । आर्थिक वृद्धि र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्ने उनको प्रयासमा चर्को आलोचना भएको थियो । उनले कार्बन उत्सर्जनमा कर लगाएका थिए ।
क्यानडामा कोभिड–१९ का कारण अन्यत्रभन्दा कम मानिसको मृत्यु भएको थियो भने उनको सरकारले ठूलो आर्थिक सहयोग समेत गरेको थियो । तर पछिल्लो समय ट्रुडोको नाम भएको झन्डा र अपशब्द ग्रामीण भेगमा सामान्य दृश्य बनेको थियो । स्क्यान्डल र अलोकप्रिय नीतिहरूको संयोजनले समयको साथ उनका सम्भावनाहरूलाई क्षति पुर्यायो।
उनी क्यानडाको इतिहासमा दोस्रो सबैभन्दा कान्छो प्रधानमन्त्री बनेका थिए । ट्रुडो एक पूर्व शिक्षक, नाइट क्लब बाउन्सर र स्नोबोर्ड प्रशिक्षक हुन् । उनका तीन बच्चाहरू छन् र उनकी पत्नी एक पूर्व मोडेल तथा टिभी प्रस्तोता हुन्। एजेन्सी