पाइपलाईनले रोजगारी खोसिने भएपछि इन्धन ढुवानी ठप्प पार्दै व्यवसायी र मजदूर



काठमाडौं,पुस २३ । पेट्रोलियम पदार्थको ढुवानीमा काम गर्ने व्यवसायी र मजदूरका तीन संगठनले बुधबारबाट इन्धनको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी र साधनसम्बन्धी समस्या समाधान नगरेको भन्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघ अमलेखगञ्ज, अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी संघ र नेपाल यातायात स्वतन्त्र मजदूर संगठन अमलेखगञ्जले मंगलबार एक संयुक्त बिज्ञप्ती जारी गर्दै यस्तो भनेका छन् ।

उनीहरुले अनिश्चित कालका लागि ट्यांकर सञ्चालनमा रोक लगाएर इन्धनको ढुवानी ठप्प पार्ने चेतावनी दिएपछि पेट्रोलियम पदार्थको नियमित आपूर्तिमा समस्या उत्पन्न हुनसक्ने ठानिएको छ ।आफूहरुले पटक पटक जायज मागहरु राख्दा पनि नेपाल आयल निगमले सम्बोधन गर्न चासो नदेखाएको भन्दै विरोधका कार्यक्रम घोषणा गरेका हुन् । व्यवसायीले यही पुस १४ बाट नै विरोधका कार्यक्रम गर्ने तय भए पनि मधेशको प्रादेशिक कार्यालयले विशेष अनुरोध गरेपछि पुस २३ सम्मको समय दिएका थिए ।

आफूहरुले पटक पटक जायज मागहरु राख्दा पनि नेपाल आयल निगमले सम्बोधन गर्न चासो नदेखाएको भन्दै विरोधका कार्यक्रम घोषणा गरेका हुन् । व्यवसायीले यही पुस १४ बाट नै विरोधका कार्यक्रम गर्ने तय भए पनि मधेशको प्रादेशिक कार्यालयले विशेष अनुरोध गरेपछि पुस २३ सम्मको समय दिएका थिए ।

विरोधका कार्यक्रम अनुसार बुधबारदेखि भारतको बरौनी रिफाइनरीबाट हुने पेट्रोलको लोडिङ कार्य नै रोक्न प्रयास गर्ने पेट्रोलियम ढुवानी व्यवसायी संघका महासचिब राम ठकुरीले बताएका छन् । लोडिङ भइहाल्यो भने पनि अमलेखगञ्ज डिपोमा अनलोडिङ नगर्ने उनले बताए । अमलेखगञ्ज डिपोबाट पनि लोडिङ र अनलोडिङ दुबै काम ठप्प पारिने उनको भनाइ छ ।

अमलेखगञ्ज डिपोमार्फत बिराटनगर, भैरहवा, जनकपुरलगायतका क्षेत्रका पेट्रोल पम्पमा पेट्रोल आपूर्ति हुँदै आएको छ । यो आन्दोलनका कारण ती क्षेत्रमा पेट्रोलियमको आपूर्ति बिथोलिन सक्ने बताइएको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोश्रो चरणको परियोजना कार्यान्वयनमा आएसँगै अब छिट्टै नै पेट्रोल पनि पाइपलाइनबाटै ढुवानी हुनेछ । त्यसपछि त्यस क्षेत्रमा कार्यरत ढुवानी साधन र मजदूर कामबिहिन हुने भएका छन् । त्यसैले आफूहरुलाई रोजारविहिन हुनबाट बचाउन र अन्य रूटमा ढुवानी व्यवसाय सञ्चालन गर्न उनीहरुले माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्