शिक्षा मन्त्रीसँगको भेटपछि आन्दोलन स्थगित



काठमाडौं, पुस २२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौंको माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईलाई भेटेर माग पूरा गर्ने प्रतिवद्दता जनाएपछि आन्दोलनकर्मी नेत्र चापागाईले आन्दोलन स्थगित गरेका छन। 

उक्त समयमा मन्त्री भट्टराइले शिक्षा क्षेत्र सुधारका लागि प्रक्रियामा प्रवेश गरिसकेकाले शंका नगर्न अनुरोध गरेका थिए । बजेट तर्जुमा गर्दा अहिलेको सरकार नरहेका कारण सबै विषय सम्वोधन गर्न कठिन रहेको छ, तथापि अहिले विपद्बाट क्षति भएका विद्यालयको पुनर्निर्माण गर्न आवश्यक रकम व्यवस्थापनका लागि अर्थ मन्त्रालय पेश भइसकेको बताए । 

संस्थागत विद्यालयमा सरकारले तोके बमोजिम छात्रवृति दिनका लागि अनिवार्य गराइएको, स्थानीय तहहरूलाई शिक्षा कोष स्थापना गर्न उत्प्रेरित गराईने, शिक्षकको उपचारमा छुटको लागि स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिसकिएको पनि उक्त समयमा मन्त्री भट्टराईले बताएका थिए । शिक्षामा अहिले देखिएका समस्याहरूको सुधार र यसबाट परिणाम आउन दिनका लागि सबैको साथ सहयोग आवश्यक रहेको कुरामा शिक्षा मन्त्रीले जोड दिएका थिए ।

सो समयमा प्रतिनिधि सभाको शिक्षा, समितिका सभापति अमरबहादुर थापाले नेपालको शिक्षाको मोडेल सुधारका लागि समितिमा छलफलमा राखेको, अबको शिक्षाको मोडेल नेपालमै बसेर केही गर्न सक्ने खालको हुनुपर्ने भएकाले सोहिअनुसार शिक्षा ऐन ल्याउन नागरिकको धारणा समेत लिन खोजेको कुरा बताए । 

शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाई सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौं आएका थिए । काठमाडौंमा उभिन थालेको सोमबार आठौं दिन हो । खुट्टा सुन्निएपछि उनी बैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्