पत्रकारको हकहित तथा अधिकारका क्षेत्रमा महासङ्घ लाग्नुपर्नेमा जोड
काठमाडौ,पुस २३ । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको आगामी तीन वर्षको कार्ययोजना सम्बन्धी रणनीतिक योजना कार्यशाला सम्पन्न भएको छ ।
आइतबार र सोमबार पनौतीस्थित थुम्की रिसोर्टमा सम्पन्न कार्यशालामा प्रस्तुत सल्लाह, सुझाव समेतका आधारमा महासङ्घले ३ वर्षको लागि कार्ययोजना तयार गरेको छ ।
सो अवसरमा शाखाका पूर्व अध्यक्ष एवं सल्लाहकार परिषद् सदस्य भोजराज तिमिल्सनाले पत्रकारको वृत्ति विकास, क्षमता बिकास, पत्रकारको हकहित तथा अधिकारका क्षेत्रमा महासङ्घ लाग्नुपर्ने भन्नुहुँदै पत्रकारको हकहित संरक्षण, तथा आपत् विपद् पर्दा महासङ्घ अगाडि देखिन जरुरी रहेको बताए । महासङ्घलाई आवश्यक पर्दा आफू जतिबेला पनि सहयोग गर्न तत्पर रहेको बताउदै उनले पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम लगायतका कार्यमा आफू सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पूर्व अध्यक्ष तिमल्सिनाले पत्रकारिता नै गर्छु भनेर मन देखिनै पत्रकारिता गर्ने हो भने यसमा सम्भावना प्रशस्त रहेको बताए । उनले पीडितको पक्षमा केन्द्रित रहेर पत्रकारिता गर्नुपर्ने बताए । उनले अघिल्लो पुस्ताले गरेको अपेक्षालाई मर्न नदिन महासङ्घलाई आग्रह समेत गरे ।
पूर्व अध्यक्ष एवं सल्लाहकार परिषद् सदस्य ईश्वरीप्रसाद ओझाले पत्रकारिता पेसालाई समयअनुसार परिमार्जन गर्दै जान जरुरी रहेको बताए । उनले आधुनिकताको विकाससँगै पछिल्लो समय बिभन्न क्षेत्रहरूमा भइरहेको डिजिटलाइजेसनले अब हामीले परम्परागत रुपमा नै पत्रकारितामार्फत अगाडि सक्ने अवस्था नरहेको बताए ।
उनले पछिल्लो समय कसलाई पत्रकार मान्ने कसलाई नमान्ने भन्ने चुनौती रहेको भन्दै राज्यको नीति नियम, राज्यको पोलिसिभित्र रहेर जो सदस्य भएका छन्, जसले कामहरू पनि गरिरहेका छन् ती सबै पत्रकार भएको बताए । उनले महासङ्घमा आवद्ध हुन नसकेका सबै क्रियाशील पत्रकारलाई समेट्ने गरी अगाडि बढ्न आग्रह गरे ।
पूर्व अध्यक्ष एवं सल्लाहकार परिषद् सदस्य भोला थापाले पत्रकारिताको विगतदेखि कायम रहेको गरिमालाई कायम राख्ने गरी कार्य गर्न आग्रह गरे ।
पूर्व अध्यक्ष एवं सल्लाहकार परिषद् सदस्य महेशराज पौडेल नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकलाई नमुना पत्रकार महासङ्घ बनाएर लैजाने आफूहरूको चाहना रहेको भन्दै त्यही अनुसार अबको नेतृत्वले काम गर्ने विश्वास व्यक्त गरे ।उनले भूमिका केन्द्रित गरेर महासङ्घले आफ्नो गतिविधि अगाडि बढाउन सुझाव दिए ।
पूर्व अध्यक्ष एवं सल्लाहकार परिषद् सदस्य नारायण सापकोटाले पत्रपत्रिका, रेडियो, अनलाइन लगायतका सञ्चार माध्यमको संरक्षणको भूमिका पनि महासङ्घले गर्नुपर्ने बताए । उनले पेसागत हक हित र नयाँ आउने पत्रकारका लागि रोजगारमा जोड दिन जरुरी रहेको बताए ।