अर्घाखाँचीमा लागु औषधसहित पाँच जना पक्राउ
अर्घाखाँची,पुस २२ । अर्घाखाँचीको सन्धिखर्कमा लागु औषध सहित पाँच जना पक्राउ परेका छन् । दुई छुट्टाछुट्टै स्थानमा पाँच जना पक्राउ परेका हुन् ।
सन्धिखर्क नगरपालिका–१०, बिहारमा चेकजाँच गर्दा सन्धिखर्क–१ का प्रतीक भनिने शिलबन्दु कँडेललाई लागु औषधसहित प्रहरीले पक्रेको छ । २४ वर्षीय कँडेलको साथबाट पाँच सयको नोटमा लुकाई राखेको अवस्थामा ३६० मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।
यस्तै सन्धिखर्कमा बुटवलबाट आउँदै गरेको हाईस चेकजाँचको क्रममा लागु औषधसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पक्राउ पर्नेमा सन्धिखर्क–१० का २१ वर्षीय कमल प्रसाद खत्री, सन्धिखर्क–१ का २० वर्षीय सुरज कुमाल, २० वर्षीय सुजन नेपाली र १९ वर्षीय सुमित रायमाझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णु प्रसाद पौडेलले जानकारी दिए ।
उनीहरूको साथबाट १३० मिलिग्राम ब्राउन सुगर नामक लागु पदार्थ फेला परेको हो । पाँचै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ ।