हराएको एक हप्तापछि मृत भेटिए किशोरकिशोरी
दैलेख, पुस २२ । एक हप्ताअघिदेखि बेपत्ता भएका किशोरकिशोरी आइतबार मृत भेटिएका छन् । पुसको १३ देखि बेपत्ता भएका उनीहरू घरनजिकैको तुसोरे जङ्गलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
कालिका माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका–४, मन्घरमा कक्षा १० मा अध्ययनरत मनसिंह विक र कक्षा ९ मा अध्ययनरत शर्मिला थापा एक हप्तादेखि बेपत्ता थिए ।
विद्यालयका प्रधानाध्यापक कर्णबहादुर थापाले एक हप्तासम्म पनि विद्यालयमा नआउँदा परिवारलाई खबर गरिएको र घरमा नभएको कुरा आएपछि खोजी गरिएको बताए । उनले भने, “खोज्दै जाँदा जङ्गलमा एउटै डोरीमा बाँधिएर आत्महत्या गरेको पाइयो । प्रेमसम्बन्धमा थिए कि भन्ने आशङ्का छ ।”
छात्रा शर्मिला थापाका आफन्तसमेत रहेका प्रधानाध्यापक थापाले शवको पोस्टमार्टम गर्न केटापक्षले आनाकानी गरेको बताए । उनले जातीय विभेदको कुरा ल्याएर केटापक्षले आनाकानी गरेपछि पोस्टमार्टम गर्न नसकिएको जनाए । केटाकेटी दुवैले आत्महत्या गरेका कारण केटापक्षले नै केटीको समेत काजकिरिया गर्ने कुरा केटी पक्षले गरेको र केटापक्षले पोस्टमार्टम गर्दा गर्भमा बच्चा भएको खण्डमा मात्र आफूहरूले काजकिरिया गर्ने केटापक्षको अडान रहेको छ ।
दलित अधिकारकर्मी तथा अगुवा जयबहादुर विकले जातीय विभेदकै कारण किशोरले आत्महत्या गरेकाले सहजै पोस्टमार्टम गर्न नसकिने बताए । उनले विभेदकै कारण दुवैको मृत्यु भएको बताउँदै यस्ता घटना दोहोरिन नदिन जिम्मेवार पक्षले विभेद अन्त्यका लागि साझा प्रतिबद्धता नगर्दासम्म आफूहरूले शव नबुझ्ने बताए ।
उनले जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखको व्यवस्थापन पहिला गर्नुपर्ने बताए । उनले दुवै पक्षको क्षति भएका कारण दुवै पक्ष सहमतिमा आएर शवको पोस्टमार्टम गर्न प्रहरीले सहजीकरण गरिरहेको जानकारी दिए । प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइसकेको छ ।