स्वर्णलक्ष्मी सहकारीको रकम दुरुपयोग प्रकरण : लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं,पुस २२ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोपमा रवि लामिछानेसहित ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा आइतवार मुद्दा दर्ता गरेको हो ।
गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित सञ्चालक छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सह–सचिव कविता तामाङलगायतविरुद्ध मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा उनीहरूमाथि १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो कायम गर्न माग गरिएको छ ।
सहकारी ठगी प्रकरणमा लामिछानेलगायतमाथि कास्की जिल्ला अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा छ । पोखराको सुर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध परेको मुद्दामा अहिले थुनछेक बहस चलिरहेको छ ।