‘सरकारले प्रतिक्रियावादविरुद्ध सन्देश दिएको छ’



ललितपुर,पुस २२ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक स्थायित्वको सन्देश दिएको बताएका छन् । एमाले मुख्यालय च्यासलमा आइतबारदेखि सुरु केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेससँगको सत्ता सहकार्यसँगै अर्थतन्त्रमा सुधार र राजनीतिक स्थायित्वको यात्रामा देश अघि बढेको बताएका हुन् । 

प्रधानमन्त्री ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति बलियो भएका कारण मुलुकका प्रतिक्रियावादी आतङ्कित भएको बताए । उनले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीय रूपमा एमालेविरुद्ध झुटा प्रचारमा लागेको टिप्पणी गरे । उनले एमालेको लोकप्रियता देखेर त्यसलाई घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीको सही नीतिका आधारमा एकताबद्ध भई झुटा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गरे । 

उनले भने, “हामी विरोधीका आरोपमाथि चुप लागेर बस्न हुँदैन । चुप लागेर बस्नु पर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नु पर्छ । हाम्रा सबै सङ्गठन उत्साहित हुन जरुरी छ । वैचारिक कामलाई उत्तिकै महत्त्व दिनु पर्छ । पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नै पर्छ ।”

‘गुटबन्दीले पार्टी बलियो हुँदैन’

अध्यक्ष ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो नबनाउने बताउँदै बहकाउमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेतालाई अहिले लड्ड ओकल्नुपरेको पनि टिप्पणी गरे । 

राजनीतिक प्रतिवेदन प्रस्तुत

बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठको लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्  । प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स एमाले र नेपाली कांग्रेससँगको गठबन्धनको आवश्यकता, औचित्य र अवसर, यस गठबन्धनपछिका छ महिना, अस्थिरता, अराजकता र प्रायोजित निराशाको प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको परराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माणका विषयवस्तु छन् । 

राजनीतिक प्रतिवेदनमा नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको उल्लेख छ ।

त्यसै गरी प्रतिवेदनमा राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथितिमाथि हस्तक्षेप गरी बचतकर्तालाई न्याय तथा अनियमिततामा संलग्नलाई सजाय दिन थालिएको र विकास निर्माणले गति लिएको जस्ता मुख्य उपलब्धि हासिल भएको उल्लेख गरिएको छ । 

प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा ओलीले आफू नेतृत्वमा बनेको सरकारले महत्त्वपूर्ण काम, उपलब्धि र नीतिगत सुधारका काम गरेको दाबी गरिएको छ । प्रतिवेदनमा भनिएको छ, “प्रधानमन्त्रीले शपथग्रहण गरेकै दिन गत असार ३१ गते मन्त्रीपरिषद्लाई पूर्णता दिएर हामीले सत्ता सहयात्रीबिच रहेको बलियो विश्वास, समझदारी र जिम्मेवारीबोधलाई प्रदर्शित गरेका छौँ ।”

अराजकसँग साँठगाँठ

प्रतिवेदनमा दुई दलबिच भएको सातबुँदे सहमतिलाई प्रभावकारी कार्यान्वयन गर्न र दुई दलबिच दिगो विश्वासको वातावरण निर्माण गर्न प्रधानमन्त्रीका तर्फबाट उक्त सहमति औपचारिक रूपमा सदनमा प्रस्तुत गरिएको छ र त्यो अभिलिखित भएको प्रस्ट पारिएको छ । 

प्रतिवेदनमा ‘दलहरूबिच सहमति हुने, तर त्यसको आफूखुसी व्याख्या गर्दै दाउपेच र निजी स्वार्थमा दुरुपयोग गर्ने गलत परम्परालाई तोड्ने र राजनीतिलाई पारस्परिक विश्वास, पारदर्शिता र इमानको जगमा सञ्चालन गर्ने सन्दर्भमा यो साङ्केतिक तर महत्त्वपूर्ण पाइला हो’ भनिएको छ । 

प्रतिवेदनमा सरकारको नेतृत्व गरिरहेको देशकै ठुलो कम्युनिस्ट पार्टी नेकपा (एमाले) लाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ताबाट बाहिरिँदाको प्रतिशोध साध्न अराजकतावादीसँग साँठगाँठ गरेको आरोप लगाएको प्रतिवेदनमा विश्लेषण गरिएको छ । 

बैठकमा राजनीतिक प्रतिवेदनका साथै साङ्गठनिक कामको सङ्क्षिप्त जानकारी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, वैशाख, २०८१ पछि भएका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णयहरूको जानकारी, केन्द्रीय आयोगका अध्यक्षहरूको सम्बोधन, समसामयिक प्रस्ताव र विविध विषय कार्यसूची रहेको महासचिव शङ्कर पोखरेलले जानकारी गराए । 

बैठकमा पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू निरज आचार्य र विष्णु रिजाल रहेको बहस नोट कमिटी तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरू रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन गरिएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्