‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ छिटै कालोपत्रे हुन्छ : प्रधानमन्त्री ओली
सोलुखुम्बु,पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु ‘पासाङल्हमू’ गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को कालोपत्रे गरिने बताएका छन् ।
खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को उद्घाटनका अवसरमा सुर्के पुगेका प्रधानमन्त्री ओलीले तेन्जिङ हिलारी विमानस्थल लुक्लाले सहज बनाएको खुम्बुको पर्यटन व्यवसाय हालै सञ्चालनमा आएको सडकले थप सहज भएको बताए ।
यो तेन्जिङ नोर्गे शेर्पा, पासाङल्हामु शेर्पा लगायत तिसौँ पटक सगरमाथाको आरोहण गर्ने साहसीहरूको जिल्ला भएको भन्दै उनले अब यस क्षेत्रको विकास र प्रगति हुने उनको विश्वास छ । सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय विभूति तथा प्रथम नेपाली सगरमाथा आरोही पासाङल्हमू शेर्पाको घर समेत अवलोकन गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अन्तर्राष्ट्रिय नाका जोड्ने, पर्यटकीय क्षेत्र जोड्ने तथा जनताका स्थानीय उत्पादन बजारसम्म लैजान आवश्यक स्थानका सडक निर्माणमा मन्त्रालयले विशेष प्राथमिकता राख्ने गरेको बताए । मन्त्री दाहालले खुम्बु क्षेत्रको पर्यटन सडकलाई कालो पत्रे गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने आश्वासन दिए ।
रक्षामन्त्री मानवीर राईले जलविद्युत र पर्यटनमा प्रचुर सम्भावना बोकेको सोलुखुम्बुको सर्वाङ्गीण विकासमा वर्तमान सरकार लागि परेको बताए ।
कोशी प्रदेशका मुख्य मन्त्री हिकमत कुमार कार्कीले यो पर्यटन सडक नेपालको होचो स्थान केचनाकवललाई विश्वको उच्च स्थानमा जोड्न उपयोगी हुने भन्दै पूर्वाधार विकासमा प्रदेश सरकारले ठोस योजना अगाडि सार्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे लगायत उपस्थित थिए ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि खुम्बु पासाङल्हामु–१ खरिखोलाबाट वडा नं. २ सुर्केसम्म ट्रयाक खन्न शुरु भएको २५ किलोमिटर सडक करिब १६ करोड रुपियाँको लागतमा निर्माण भएपछि पर्यटकीय पदमार्ग सञ्चालनमा आएको हो । परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजनाहरू सिल्क पावर र दूधकोशी छैटौँसँग साझेदारी गरेको छ ।
थाम डाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक ठेक्का प्रणालीमार्फत १० करोड ५२ लाख रुपियाँमा निर्माण सम्पन्न भएको छ । जसमा ५० प्रतिशत लगानी गाउँपालिकाको छ भने बाँकी ५० प्रतिशत जलविद्युत् आयोजनाबाट जुटाइएको छ । खरिखोलाबाट थाम डाँडासम्मको १२.३ किलोमिटर सडक छ करोड १४ लाख रुपियाँको लागतमा पालिकाको आफ्नै स्रोतबाट निर्माण गरिएको हो । सदरमुकाम सल्लेरीबाट ६४ किलोमिटर दुरीमा सुर्के रहेको छ ।