राहुल महरा जोडिएको सुन तस्करी प्रकरण : ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा



काठमाडौं,पुस २१ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा जोडिएको भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको छ ।  तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा (नासु) रेवन्त खड्कासहित अन्य विरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको हो ।

अभियुक्तहरूमा दिनेश बस्नेत, अमृत कार्की, राम केशव थापा, ललिता थापा, वेदप्रकाश अग्रवाल, साहेब राव, पाण्डुरङ मरगले, राहुल भनिने रेशम महरा, दावा छिरिङ, रोजन राउत, र प्रेरणा थापा रहेका छन्।  

अभियुक्तहरूविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गर्दै हदैसम्मको सजाय माग सहित जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

यसअघि, सीआईबीले उनीहरूमाथि आपराधिक विश्वासघात र संगठित अपराधको मुद्दा चलाएको थियो । गत भदौ १६ मा यस मुद्दाको फैसला भएको थियो। अदालतले नासु खड्कालाई २ वर्ष ६ महिना कैद र २५ हजार जरिवाना, दिनेश बस्नेतलाई १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना, र निर्मलकुमार विकलाई ६ महिना कैद र ५ हजार जरिवाना सुनाएको थियो।

त्यस्तै, वेदप्रकाश र साहेब रावलाई जनही ४५ हजार जरिवाना, दावा र राहुललाई १ वर्ष २ महिना कैद, तथा राम केशव र अमृतको जग्गा जफत गर्ने फैसला भएको थियो। लोकेन्द्रलाई भने सफाइ दिइएको थियो।

अवैध ल्याइएको सुन बेचेर जग्गा खरिद गरेको प्रमाणित  भएपछि उक्त जग्गा जफत गर्ने निर्णय गरिएको थियो । २०७९ पुस १० मा फ्लाई दुबईको जहाजमार्फत चिनियाँ नागरिक लि ह्यानसङले सुटकेसभित्र भेपमा लुकाएर सुन ल्याएका थिए। विमानस्थल भन्सारले शंकास्पद देखिएको उक्त सुटकेस नियन्त्रणमा लिएको थियो। तर, त्यतिबेला भेपभित्र सुन रहेको यकिन भएको थिएन। 

चिनियाँ नागरिक होसाङलाई पासपोर्टसहित भन्सारले छोडिदिएपछि उनले भोलिपल्टै स्वदेश फर्किए। पछि भेप गायब पारेर बेचिएको खुल्नासाथ सुन तस्करीको रहस्य बाहिरियो। यसको अनुसन्धान सीआईबीले गरेको थियो।

प्रतिक्रिया दिनुहोस्