तराईका जिल्लाहरूमा अत्यधिक चिसो, जनजीवन प्रभावित



बीरगंज,पुस २० । बीरगंज लगायत तराई मधेसका जिल्लाहरूमा बिगत ५ दिन एता बाक्लो हुस्सु र कुहिरो सहित अत्यधिक चिसो बढ्न थालेपछि जनजीवन प्रभावित भएको छ । 

अत्यधिक जाडो बढेको र चिसोबाट बच्न न्यानु लुगा लगाएर अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन र झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।

विशेषगरी जाडोको कारण बालबालिका, वृद्धवृद्धा, दम तथा रुघाखोकीका बिरामी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर निरज सिंहले बताए ।

यसका साथै बाथ तथा गेठियाका रोग लागेका बिरामीलाई चिसोका कारण थप समस्या बढ्ने जोखिम भएको कारण यसबाट जोगिन बिहानको समयमा मर्निङ वाक नगर्न र गर्नै परे शरीर ढाकिने गरी न्यानो लुगा लगाउन आवश्यक रहेको सिंहले बताए ।

केही दिन देखि वीरगन्ज स तराई मधेसमा अत्यधिक चिसो बढेकाले उच्च सतर्कता अपनाउन सिंहले आग्रह गरे ।  हाल वीरगन्जको नारायणी अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाका बिरामी बढेका छन् ।

वीरगञ्ज क्षेत्रमा बिहानदेखि कुहिरो लाग्ने गरेको छ । यो क्रम अझै केही दिन कायम रहे थप चिसो बढ्ने अवस्था छ ।त्यसैले विशेष सतर्कता अपनाउन उनले आग्रह गरे । 

चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रका सार्वजनिक स्थान तथा चोकहरूमा दाउरा बितरणगरी आगो ताप्ने व्यवस्था मिलाएको छ भने प्रदेश सरकारले दाउरा तथा कम्बल वितरणका लागि पहल गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्