तामाका गाग्री थन्क्याएर, प्लास्टिकका भाँडाको अधिक प्रयोग
मुगु,पुस २० । मुगु जिल्लाका ग्रामीण बस्तीहरूका साथै बजारमा क्षेत्रमा अहिले परम्परागत तामाका गाग्री थन्क्याएर प्लास्टिकका ग्यालेन प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ। आधुनिकता र सुविधाको खोजीले गर्दा स्थानीय समुदायले आफ्नो सांस्कृतिक महत्व बोकेका परम्परागत भाँडाकुँडा बिर्सँदै प्लास्टिकका सामग्री अपनाउन थालेका छन्।
पहिलेका दिनमा पानी बोक्न र भण्डारण गर्न तामाका गाग्री प्रयोग गरिन्थ्यो। तामाले पानीलाई चिसो र शुद्ध राख्ने विश्वास छ। तर, पछिल्लो समय बजारमा प्लास्टिकका ग्यालेन सस्तो र सजिलो रूपमा उपलब्ध हुँदा ग्रामीण क्षेत्रमा यसको लोकप्रियता बढेको हो।
स्थानीयहरूले भने तामाका भाँडाकुँडा महँगो हुने र भारी हुने भएकाले प्लास्टिकका ग्यालेन प्रयोग गर्न थालिएको बताएका छन्। छायाँनाथ रारा नगरपालिका वडा नं १ का पूर्व स्वास्थ्य कर्मी एवं योग गुरु जयबहादुर मल्लले ” प्लाष्टिक जन्य भाँडाकुँडाकाे प्रयोगले मानव स्वास्थ्यमा दीर्घकालीन समस्या निम्त्याउन सक्ने र तामाकै गाग्री लगायत धातुका भाँडाकुँडाको प्रयोग गर्न स्वास्थ्यका दृष्टिकोणबाट धेरै राम्रो हुने सुझाउनु हुन्छ ।”
उनी भन्छ्न “प्लास्टिकका भाँडाको प्रयोगले मानव स्वास्थ्यमा दीर्घकालीन नकारात्मक रोगहरू जस्तै, क्यान्सर, टिभी जस्ता रोगहरू देखिन सक्छ ।” देशै भरी प्लाष्टिक जन्य सामाग्रीको प्रयोगले पछिल्लो समयमा मानिसहरू विभिन्न रोगका सिकार भइरहेका छन् , अस्वस्थकर खानपान र प्लाष्टिक जन्य भाँडाकुँडाकाे प्रयोगले नै हुन सक्छ । हाम्रा पुर्खाहरूले भारत बाट ल्याएका तामाका गाग्री , ताउला प्रयोग गर्दथे र निरोगी पनि हुन्थे तर अहिले त्यस्तो छैन मल्लले भने ।”
सांस्कृतिक तथा पर्यावरणविद्हरूले भने यो प्रवृत्तिले स्थानीय संस्कृति र वातावरणमा नकारात्मक असर पर्ने र तामाका भाँडाकुँडा पुनः प्रयोगमा ल्याउन प्रोत्साहन गर्नुपर्ने कुरामा नेपाल सरकार स्थानीय तहले जनचेतना जगाउनु अहम भूमिका खेल्नु पर्ने देखिन्छ।”