ऋणमा निर्माणाधीन सडक, काम सुस्त
काठमाडौ,पुस २० । एसियाली विकास बैङ्क (एडिबी) को ऋण लगानीमा विस्तार तथा स्तरोन्नति भइरहेका सडक पूर्वाधार आयोजनाको अवस्था सुस्त देखिएको छ ।
ऋण लगानीमा विस्तार तथा स्तरोन्नति भइरहेका सडक पूर्वाधारहरूको दयनीय अवस्थाले आमनागरिकले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएका छन् । त्यसै गरी सडकहरू निर्धारित समयमा निर्माण हुन नसक्दा मुलुकले लिएको पर्यटक भित्र्याउने लक्ष्य अपुरो हुनुका साथै अर्थतन्त्रमा समेत गम्भीर असर परेको छ ।
एडिबीको ऋण लगानीमा अहिले मुलुकको चार वटा सडक आयोजनाको विस्तार तथा स्तरोन्नति भइरहेका छन् । दक्षिण एसिया क्षेत्रीय आर्थिक सहकार्य (सासेक) कार्यक्रम अन्तर्गत पूर्वपश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा–लौकही खण्ड, कञ्चनपुर–कमला खण्ड र नारायणगढ–बुटवल खण्डको विस्तार तथा स्तरोन्नति भइरहेका छन् ।
त्यसै गरी एडिबीकै ऋण लगानीमा मुग्लिङ–आँबुखैरेनी–पोखरा सडकको विस्तार तथा स्तरोन्नति भइरहेको छ । एडिबीको ८३ अर्ब ७२ करोड रुपियाँ ऋण सहयोगमा ती आयोजनाको काम भइरहेको छ । आयोजना निर्धारित समयमा सम्पन्न नहुँदा निर्माण लागत बढ्दै जाने देखिएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल खण्डको विस्तार कार्य सम्पन्न हुन नसक्दा गौतम बुद्ध जन्मस्थान जाने पर्यटकको सङ्ख्यामा कमी आएको छ । त्यसै गरी मुग्लिङ–आँबुखैरेनी–पोखरा सडक विस्तार कार्य समयमा सम्पन्न हुन नसक्दा स्थल मार्ग भएर पोखरा, मनाङ, मुस्ताङलगायत सो क्षेत्रमा जाने पर्यटकको सङ्ख्यामा समेत उल्लेखनीय कमी आएको हो ।
नारायणगढ–बुटवल खण्ड
नेपालस्थित एडिबी निर्देशनालयका प्रमुख चूडाराज ढकालका अनुसार यस राजमार्ग खण्डको अहिलेसम्मको भौतिक प्रगति ५२.५ प्रतिशत छ । सम्झौता अनुसारको निर्माण अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि करिब आधा भौतिक प्रगति भएको हो । यस राजमार्ग खण्डको विस्तार तथा स्तरोन्नतिका लागि ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७५ माघमा सम्झौता भएको थियो । सम्झौता अनुसार २०७९ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
कुल लम्बाइ ११३ किलोमिटर रहेको यो राजमार्ग खण्ड पूर्वी र पश्चिमी गरी दुई भागमा स्तरोन्नति भइरहेको छ । नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबिच सम्झौता भएको थियो । कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँको लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ । म्याद थप भएसँगै लागत रकम बढेर १७ अर्ब २७ करोड रुपियाँ पुगेको निर्देशनालयले जनाएको छ । नारायणगढ–बुटवल खण्डमा मङ्सिरसम्म मोबिलाइजेसन रकमबाहेक ४३ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजनाको तीन पटक म्याद थप भइसकेको छ । तेस्रो पटक थप गरिएको म्यादको अवधि २०८२ साउन ८ गतेसम्म रहेको छ ।
काँकडभिट्टा–लौकही (इटहरी)
पूर्व पश्चिम राजमार्गको काकरभिट्टा–लौकही (इटहरी) करिब ९६ किमीको अक्टोबर २०२४ मा ठेक्का व्यवस्थापन भई २०८० फागुनदेखि काम भइरहेको छ । सो खण्डको रुख कटानको काम सम्पन्न भई, विद्युत्, खानेपानीलगायत संरचना हटाउनेलगायत माटो पुर्ने र पुलहरूको पाइल फाउन्डेसन र केही कल्भर्ट निर्माणको काम भइरहेको नेपाल स्थित एडिबी निर्देशनालय प्रमुख ढकालले जानकारी दिए ।
यस आयोजना अन्तर्गत निन्दा, बिरिङ, कन्काई, रतुवा, बक्रा र लोहन्द्रा नदीमा रहेका पुलको निर्माण तथा स्तरोन्नति गर्नुपर्ने छ । २०८० कात्तिक २ गते निर्माण सम्झौता भएको यस आयोजनाको अवधि २०८९/९० सम्म रहेको छ । अहिलेसम्म यस आयोजनाको भौतिक प्रगति ४.५ प्रतिशत र वित्तीय प्रगति ६.५ प्रतिशत छ ।
कञ्चनपुर–कमला खण्ड
पूर्व पश्चिम राजमार्गको कञ्चनपुर–कमला खण्डको विस्तार तथा स्तरोन्नतिका लागि नेपाल सरकार र निर्माण कम्पनीबिच २०७७ असार ११ गते सम्झौता भएको थियो । सम्झौता अनुसार २०८० कातिक ११ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म यस खण्डको भौतिक प्रगति ५०.३ प्रतिशत र वित्तीय प्रगति ५६.२ प्रतिशत छ । १५ अर्ब ६६ करोड रुपियाँ लागत रहेको यस आयोजनाको दुई खण्डमा विस्तार भइरहेको छ । कुल लम्बाइ ८६.८३ किलोमिटर रहेको राजमार्गको यस खण्डमा ५४ वटा मुख्य पुल, २१८ कल्भर्ट, ७४.९६ किलोमिटर ड्रेन निर्माण गर्नुपर्ने एडिबी निर्देशनालय प्रमुख ढकालले जानकारी दिए ।
मुग्लिङ–आँबुखैरेनी–पोखरा सडक
मुलुकको पर्यटकको हबका रूपमा रहेको पोखरा, मनाङ, मुस्ताङलगायत सो क्षेत्रमा पर्यटकको सङ्ख्यामा वृद्धि होस् भन्ने उद्देश्यले विस्तार तथा स्तरोन्नति सुरु गरिएको मुग्लिङ–आबुखैरेनी–पोखरा सडकखण्डको कामसमेत सुस्त देखिएको छ ।
यस सडकखण्डको कुल लम्बाइ ८०.३३ किलोमिटरमध्ये अहिलेसम्म ३२ किलोमिटर चार लेन र २१ किलोमिटर दुई लेन कालोपत्रेसहित आयोजनाको भौतिक प्रगति ४७ प्रतिशत र वित्तीय प्रगति २३ प्रतिशत पुगेको छ ।
दुई खण्डमा विस्तार तथा स्तरोन्नति भइरहेको यस आयोजनाको पूर्वी खण्डको २०७७ माघ १४ गते र पश्चिमी खण्डको २०७८ जेठ ३ गते सम्झौता भएको थियो । सम्झौता अनुसार पूर्वी खण्डको म्याद २०८१ वैशाख २ गतेसम्म रहेकामा १५५ दिन म्याद थप गरी आयोजनाको काम भइरहेको छ । त्यसै गरी सम्झौता अनुसार पश्चिमी खण्डको म्याद सकिसकेको छ । यस खण्डको म्याद २०८१ भदौ १२ गतेसम्म रहेकामा अहिलेसम्म म्याद थपबिना नै काम भइरहेको छ ।
त्यसै गरी आयोजना अन्तर्गत २९ वटा पुल, २८१ कल्भर्ट र नालालगायत संरचना निर्माण गर्नुपर्नेमा अहिलेसम्म १७ वटा पुल र ९० वटा कल्भर्ट निर्माण भइसकेको छ । यस आयोजना अन्तर्गत सेती नदीमा १९० मिटरका दुई/दुई लेनका दुई वटा विशेष पुल र माडी नदीमा चार लेनको ‘आर्क’ पुल निर्माणाधीन छन् ।
नेपालस्थित एडिबी निर्देशनालयका प्रमुख ढकालले निर्माण स्थलमा काम गर्ने वातावरण सहज नहुँदा आयोजनाहरूले लक्ष्य अनुसारको प्रगति प्राप्त गर्न नसकेको बताए । वन तथा निकुञ्जको अड्चनका कारण रुख कटानमा समस्या, जग्गा मुआब्जा, बिजुली तथा टेलिकमका खम्बाहरू र खानेपानीका पाइपहरूको स्थानान्तरण (रि–लोकेटेड), स्थानीयको अवरोध, निर्माण सामग्रीको अभाव, विभिन्न कानुनी अड्चनलगायतका समस्या कारण काममा अवरोध हुँदै आएको बताए ।
पर्यटक ‘हब’ नै प्रभावित
नेपाल सरकारका पूर्वसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले एडिबीको ऋण सहयोगमा विस्तार र स्तरोन्नति भइरहेका पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड तथा मुग्लिङ–आबुखैरेनी–पोखरा सडकको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा मुलुकको पर्यटक ‘हब’ का रूपमा लुम्बिनी र पोखरा बर्सौंदेखि प्रभावित बन्दै आएको बताए ।
त्यसै गरी आयोजना समयमा सम्पन्न हुन नसक्दा बर्सेनि लागत बढ्दै जाँदा मुलुकको अर्थतन्त्रमा समेत यसले असर पार्दै आएको उनको भनाइ छ । त्यसै गरी नारायणगढ–बुटवल खण्डको काम लामो समयसम्म सम्पन्न हुन नसक्दा नेपाल र भारतबिचको मुख्य नाकामध्येका भैरहवा र कृष्णनगरबाट मालसामान लिएर काठमाडौँ आउने सवारीसाधनमा समेत कमी आएको उनले बताए ।