सर्वोच्चका शाखा अधिकृतले १० लाख घुस लिएको आरोप, पैसा फिर्ता गराइदिन माग गर्दैै निवेदन
काठमाडौ,पुस १९ । सर्वोच्च अदालतका एक कर्मचारीमाथि मुद्दा जिताइदिने भन्दै १० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकाकी शुशिला निरौलाले ती कर्मचारीमाथि घुस लिएको आरोप लगाएकी हुन् । निरौलाले सर्वोच्च अदालत र विभिन्न कर्मचारी संगठनलाई लेखेको पत्रमा आफ्नो स्वर्गीय श्रीमानको नाममा चलेको मुद्दा जिताइदिने र मुद्दा हारेमा पैसा फिर्ता दिने शर्तमा ती कर्मचारीलाई १० लाख दिएको उल्लेख गरेकी छन् ।
‘मेरा पति स्व.श्री नारदप्रसाद गौतमको समेत मुद्धा सर्वोच्च अदालतमा कारवाही चलिरहेको अवस्थामा सो मुद्धा जिताई दिन्छु भनि त्यस सेवामा काम गर्ने पुष्कर थापा नाम गरेका एक जना कर्मचारीले म निवेदकबाट मार्फत अक्षरेपी दश लाख …..फिर्ता दिलाई पाउनको लागि फर्मको प्रतिलिपिहरु यसै साथ संलग्न राखि पठाएकी छु,’– उनले पत्रमा भनेकी छन् ।
कर्मचारी युनियन, कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठनलगायतलाई पनि बोधार्थ दिएकी छन् । यस विषयमा ती कर्मचारीसँग बुझ्दा उनले आफूलाई केही कर्मचारी संगठनहरुले सोधपुछ गरेको र अदालतमै निवेदन आएको भने थाहा नपाएको बताए । उनले आफूले आरोप लगाउने महिलासँग मुद्दा जिताउने भनेर पैसा नलिएको जिकिर गरे । उनले आफूले एक जना चौहान थरका व्यक्तिमार्फत १३ लाख रुपैया ती महिलाका पतिलाई दिएको र अझै २ लाख रुपैयाँ फिर्ता पाउनै बाँकी रहेको सुनाए । ती महिलाले सापटी फिर्ता पठाएको भौचरलाई अहिले प्रमाण देखाएर आफ्नो बदनाम गराउन खोजेको उनले बताए । आरोपित कर्मचारी थापाले अहिले आफू सर्वोच्चको फैसला कार्यान्वयन शाखामा कार्यरत रहेको बताए ।