बीरगंजमा जाडो बढ्दै गएपछि सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था
बीरगन्ज,पुस १८ । तीन दिनयता शीतलहरूसँगै चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा दाउरा वितरण गरि आगो बालेर ताप्ने व्यवस्था मिलाएको छ ।
बिहीबार बिहानदेखि महानगरपालिकाले नारायणी अस्पताल परिसर, माईस्थान चोक, घण्टाघर चोकलगायतका स्थानमा आगो बालेर ताप्ने व्यवस्था मिलाएको हो ।
बीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंहको निर्देशनमा नगरप्रहरी र कर्मचारीहरूको टोलीले वडा अध्यक्षहरूको समन्वयमा घण्टाघर, माइस्थान, बिर्ता चोक, नारायणी अस्पताललगायतका सार्वजनिक स्थलहरूमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको महानगरका सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले जानकारी दिए ।
अब महानगरका ग्रामीण भेगका वडाका सार्वजनिक स्थानहरूमा पनि दाउरा बाँडेर आगो ताप्ने व्यवस्था मिलाइने उनले बताए ।
वीरगन्जमा शितलहरको सुरुवात भएसँगै जाडोबाट महानगरबासीलाई राहत मिलोस् भनेर ३२ वटै वडाका सार्वजनिक स्थलमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइने नगरप्रमुख सिंहले बताए ।