सरकारले सुधारका कुनै सकारात्मक सन्देश दिन सकेन : उपेन्द्र यादव



बाँके,पुस १८ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला दल मिलेर सरकार बने पनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका छन् ।अवधि पत्रकार संघ नेपालले बिहीबार बाँकेको नेपालगंजमा आयोजना गरेको पत्रकार भेटघाटमा यादवले ठूला दल मिलेर सरकार बनाएको धेरै दिन भए पनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका हुन् ।

नयाँ सरकार बनेपछि पनि आर्थिक,राजनीतिक, प्रशासनिक, विकास निर्माण लगायतका क्षेत्रमा कुनै सुधार हुन नसकेको उनले बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले अहिलेको संविधानलाई परिमार्जन गर्नका लागि आफूहरुले धेरै अघि नै आन्दोलन गरेको भन्दै अब संविधान संशोधन र परिमार्जन आवश्यक रहेको धारणा राखे ।

विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावलाई आधार मानेर संविधान संशोधन र परिमार्जन गर्नुपर्ने उनले बताए । अध्यक्ष यादवले संघीय सरकारले आवश्यक कानून बनाउन नसक्दा संघीयता र गणतन्त्र संस्थागत गर्न कठिनाइ देखिएको धारणा पनि राखे ।

प्रतिक्रिया दिनुहोस्