नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने



काठमाडौँ,पुस १८ । नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले रुपान्तरणका लागि मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर बेग्लाबेग्लै अभियान चलाइने जानकारी दिए । यसैगरी, नेकपा माओवादी केन्द्रले पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ ।

बैठकले केन्द्रिय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्ने, प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्ने, साथै केन्द्रीय अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने र आगामी कार्ययोजना प्रस्तुत हुने एजेण्डा तय गरेको प्रवक्ता सापकोटाले जानकारी गराए ।

बैठकमा अग्रगमन, परिवर्तन र जनताका अधिकारलाई अझ विकास र विस्तार गर्न संविधान संशोधन आवश्यक भएपनि अहिले राष्ट्रको आवश्यकता संविधानको मर्म अनुसारको प्रभावकारी कार्यान्वयन हो भन्ने विषयमा छलफल भएको प्रवक्ता सापकोटाले बताए । 

अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय परिस्थिति द्वन्द्व ग्रस्त बन्दै गइरहेको र शक्ति राष्ट्रहरुबीच प्रतिद्वन्द्वीता बढ्दै गइरहेको अवस्थामा राष्ट्रिय एकताको सबैभन्दा बढी खाँचो रहेको औँल्याउँदै देशमा उत्पन्न चुनौती सामना गर्न राष्ट्रिय धारणा र दृष्टिकोण निर्माण गर्नुपर्ने विषय बैठकमा राख्नुभएको प्रवक्ता सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्