पर्यटकीय राजधानी पोखरामा उत्सवैउत्सव
लेखनाथ, पुस १७ । दिन चिसिँदा छन्, जाडो बढ्दो छ । ठिही बढ्दै जाँदा मानिस घुमफिरभन्दा घरमै बस्न रुचाउँछन् तर पर्यटन राजधानी पोखरामा भने अहिले स्थानीयसहित पर्यटकको चहलपहल छ । अङ्ग्रेजी नयाँ वर्षलाई भव्य रूपमा स्वागत गर्ने तयारीसँगै यहाँ एक दर्जनजति उत्सव, महोत्सव जारी छन् ।
पोखराको मुख्य क्षेत्र लेकसाइडमै अहिले पृथक् खालका तीन महोत्सव चल्दै छन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) कास्कीको आयोजनामा देशकै ठुलो सडक महोत्सवमा नेपाली र विदेशी पाहुना रमाएका छन् । फेवा किनारमा ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ हुँदै आएको महोत्सव २६ औँ संस्करणसम्म आइपुग्दा अङ्ग्रेजी नयाँ वर्ष मनाउने पर्वका रूपमा स्थापित भएको छ ।
रेबान अध्यक्ष विश्वराज पौडेल महोत्सवले आन्तरिक र बाह्य पर्यटकलाई पोखराको सांस्कृतिक र प्राकृतिक सौन्दर्य महसुस गराएको उल्लेख गर्छन् । “यसले सांस्कृतिक विविधतालाई उजागर गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनसमेत सघाएको छ,” पौडेलले भने । फेवातालमा आइतबार र सोमबार अन्तर्राष्ट्रियस्तरको ड्र्यागन बोट रेस भयो । चीनमा लोकप्रिय यो डुङ्गा दौडमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी बने । ड्र्यागन आकारका डुङ्गाहरूको दौडले पर्यटकलाई मात्र लोभ्याएको छैन, विदेशमा पनि पोखराको प्रवर्धन गरेको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङ यो प्रतियोगिताले नेपाली र चिनियाँलाई जनस्तरमै जोडेको उल्लेख गर्नुहुन्छ । उहाँले भन्नुभयो, “यसले खेलको विकास त गरेको छ नै । दुवै देशका नागरिकलाई बलियोसँग जोड्ने कडीसमेत भएको छ ।”
लेकसाइडछेउकै पामेमा पुस ९ गतेबाट सुरु भएको अन्तर्राष्ट्रिय हट एअर बेलुन फेस्टिभलले देश, विदेशमै चर्चा पाएको छ । पुस १७ गतेसम्म चल्ने महोत्सवका गतिविधिले बिबिसी, वाल स्ट्रिट जर्नलसम्म स्थान पाएपछि आयोजक बेलुन नेपालका अध्यक्ष विक्रम बाडे उत्साही छन् । “नेपालमा पनि बेलुन उड्छ भन्ने बुझाउन महोत्सव गरेका हौँ,” उनी भन्छ्न, “देश, विदेशबाट पाएको प्रतिक्रियाबाट उत्साही छौँ । यसले पोखराकै प्रवर्धनमा सघाएको महसुस भएको छ ।” यो महोत्सवमा १५ देशका १७ हट एयर बेलुन पोखराको आकाशमा उडिरहेका छन् । बेलुनमा उडेर नजिकैका हिमाल र पोखराको सौन्दर्य हेर्ने पारखीहरू पनि उत्तिकै छन् ।
सोमबार गुरुङ समुदायले अनेक कार्यक्रमका साथ ल्होसार मनाएको छ । गुरुङ जातिको बाक्लो बसोबास रहेको गण्डकीमा यो समुदायले ल्होसारलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको छ । गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष/वर्ग र ‘सार’ को अर्थ फेरिनु हुन्छ । संस्कृतिकर्मी कृष्णकुमार गुरुङ वर्ष फेरिने दिनलाई पर्वका रूपमा मनाइँदै आएको बताउछन् । “१२ राशि जस्तै १२ पशुपन्छीको नाममा १२ वर्ग विभाजन गरिएको हुन्छ । यसपालि गिद्ध वर्गको बिदाइ गरी सर्प वर्गलाई स्वागत गरियो,” उनले भने ।
आइतबार पोखरा–३२ मा खुदो मेला भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखाले उखु किसानलाई प्रोत्साहन गर्न यो मेला गरेको हो । महानगरले पोखरा ३२ लाई उखुको पकेट क्षेत्र घोषणा गरी उखु खेती प्रवर्धनका लागि प्रयास गरिरहेको छ । आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया महानगरले उखु कृषकलाई अनुदानसहित उत्पादित खुदो लेबलिङ र बजारीकरणका लागि समेत सघाउने गरेको उल्लेख गर्छन् । आइतबार ‘टुर दि पोखरा’ नाममा साइकल दौड प्रतियोगिता भएको थियो । सोही दिन पोखरा महानगरपालिका वडा नम्बर ४ ले यःमरी महोत्सव आयोजना गरेको थियो ।
त्यसैगरी सात तालको नगरका रूपमा परिचित साबिक लेखनाथमा भोलि पुस १८ बाट माघ १ गतेसम्म २० औँ लेखनाथ महोत्सव हुँदै छ । सोमबार पत्रकार सम्मेलन गरी यसको पूर्ण तयारीका बारेमा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठ र सञ्चार संयोजक जानुका पराजुलीले जानकारी दिए । सामाजिक काममा अग्रणी भूमिका निर्वाह गर्दै आएको युनाइटेड क्लबले पनि यही पुस २५ देखि माघ ५ सम्म पोखरा महोत्सवको आयोजना गर्दै छ ।
यसरी हुने कार्यक्रम, महोत्सव र प्रतियोगिताहरूले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा थप चिनाउन महत्वपूर्ण भूमिका खेल्ने गरेको महानगरका प्रमुख धनराज आचार्य बताउछन । उनी भन्छा “यी उत्सव, कार्यक्रमहरूले पोखराको सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, स्थानीय उत्पादनलाई प्रवर्धन गरी अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवर्धनमा सहयोग पुर्याउँदै आएका छन् ।” गोरखापत्रबाट