सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु



सर्लाही,पुस १७ । सर्लाहीमा यात्रुबाहक बसले किच्दा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजयकुमार तुलाधरको मृत्यु भएको छ ।

मङ्गलबार राति आफ्नै कार्यालय सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) अगाडिको सडकमा बसेर फोनमा कुरा गरिरहेका ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक तुलाधारलाई छतौनाबाट बलराका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख २००४ नम्बरको लोकल बसले किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक तुलाधारलाई दुर्घटना लगत्तै उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार काठमाडौं महानगरपालिका–१५, स्वयम्भु घर भएका सशस्त्रका इन्स्पेक्टर तुलाधर सर्लाहीको कविलासी नगरपालिकास्थित अगर्बामा रहेको सशस्त्र प्रहरी बलको जिल्ला कार्यालय (गण) मा दबरन्दी भई बलरा नगरपालिका–९, स्थित बीओपी छतौनामा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्