जापानमा भारी हिमपात हुँदा हवाई यातायातमा अवरोध, नयाँ वर्ष मनाउन हिंडेका यात्रु मर्कामा
टोकियो,पुस १७ । जापानको उत्तरी क्षेत्रमा भारी हिमपातले मङ्गलबार दर्जनौँ उडान रद्द हुँदा प्रियजनहरूसँग नयाँ वर्षको छुट्टी बिताउन घर फर्किरहेका लाखौँ परिवार समस्यामा परेका छन् । जापान एयरलाइन्सले दिउँसोसम्म ४२ वटा उडान रद्द गरेको र छ हजार ३९८ यात्रुलाई असर गरेको बताएको छ । ती सबै होक्काइडोको उत्तरी टापुबाट आवतजावत गर्ने सेवाग्राही थिए ।
एएनएले पनि उत्तरमा खराब मौसमका कारण आठ सय यात्रुलाई प्रभावित पार्दै १४ उडान रद्द गर्दै आफ्ना ग्राहकहरूलाई सम्भावित ढिलाइ र थप रद्दको चेतावनी दिएको जनाइएको छ । होक्काइडोको मुख्य विमानस्थलमा यात्रुहरूले वैकल्पिक उडानहरू सुरक्षित गर्न लामो लाइनहरू बनाइरहेका छन् भने केहीले सन् २०२५ को स्वागत प्रस्थान कक्षमै गर्ने तयारी गरिरहेको जनाइएको छ ।
“हिउँ देख्न पाउँदा राम्रो थियो तर म यहाँ फस्छु भन्ने मैले सोचेको थिइनँ”,दक्षिणको ओकिनावा घर जान खोजिरहेका एका व्यक्तिले एक टेलिभिजनसंग भने, “के गर्ने मलाई थाहा छैन । म आज राति विमानस्थलमा बस्नुपर्ने हुन सक्छ ।”
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार होक्काइडो र जापान सागर फर्केका उत्तरी तटरेखाका समुदायहरूले मङ्गलबार तीव्र हावा र भारी हिमपातको अनुभव गरिरहेका छन् । मौसम एजेन्सीका अनुसार सोमबारदेखि होक्काइडोका केही क्षेत्रमा २० सेन्टिमिटर (७.९ इन्च) भन्दा बढी हिमपात भएको छ । जसमध्ये धेरैजसो मङ्गलबार बिहान परेको थियो र नयाँ वर्षको दिनसम्म हिमपात जारी रहने अपेक्षा गरिएको छ ।
जलवायु परिवर्तनका कारण चरम गर्मीले विश्वका धेरै भागहरू ओगटेसँगै यस वर्ष जापानको गर्मी रेकर्ड सन् २०२३ को बराबर थियो । राष्ट्रिय मौसम एजेन्सीका अनुसार १२६ वर्षअघि रेकर्ड सुरु भएदेखि शरद ऋतु सबैभन्दा तातो थियो । माउन्ट फुजीको प्रसिद्ध हिउँको टोपी पनि यस वर्ष अहिलेसम्मकै सबैभन्दा लामो अवधिसम्म अनुपस्थित रह्यो । सामान्यतया अक्टोबरको सुरुमा देखिने भए पनि यो नोभेम्बरको सुरुसम्म देखिएन ।रासस/एएफपी