तीन छात्राद्वारा विष सेवन, एकको मृत्यु
बर्दिवास,पुस १६ । बर्दिवास ११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका एकसाथ विष सेवन गरेका तीन जना छात्रामध्ये एक छात्राको मृत्यु भएको छ । प्रहरीका अनुसार विष सेवनबाट सिराहा धनगढी नगरपालिका १० घर भएकी १७ वर्षीया छात्रा रिङ्कु शर्माको मृत्यु भएको हो ।
शर्मालाई मङ्गलबार बिहान बर्दिवासस्थित इलाका प्रहरीले पौने १२ बजेतिर बर्दिवास ४ स्थित जङ्गली क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरी बर्दिवास अस्पताल पुर्याएको थियो । अस्पतालका डा. रोशन अधिकारीले अस्पताल पुर्याउनु अघि उनको मृत्यु भइसकेको जानकारी दिए ।
रिङ्कु साथै विष सेवन गरेका उषा पण्डित र सन्जु यादवको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । दुवै छात्राको अवस्था सामान्य रहेको अस्पतालका डा. उदय दिवाकरले बताए ।
शिक्षालयका प्रशासकीय अधिकृत दाबा योन्जनले विष सेवन गरेका तीनै जना जियोमेट्री (अमिन) विषयको प्रथम वर्षका छात्रा रहेको बताए ।
विष सेवन गर्नुपर्ने एकिन कारण खुल्न सकेको छैन । तर एकजना छात्राको टेस्ट परीक्षा बिग्रेको पीडामा विष सेवन गरेको प्रारम्भिक सोधपुछमा खुलेको छ ।
शिक्षालयले केही दिनअघि लिएको टेस्टमा मृतक रिङ्कुको फिजिक्सको पेपर बिग्रिएका कारण विष सेवन गरेको अस्पतालमा भर्ना भएको सन्जुले बताइन ।