डाक्टर महतलाई सांसद तामाङको जवाफ – ‘पहिला विकासका योजना ल्याउनुस अनि चुनाव लड्नुस्’



नुवाकोट,पुस १५। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद हितबहादुर तामाङ र काङ्ग्रेस सांसद  एवम्  पूर्वअर्थमन्त्री डाक्टर प्रकाशशरण महत बीच छुट्टाछुट्टै कार्यक्रममा कडा सवालजवाफ भएको छ ।

माओवादी केन्द्र पञ्चकन्या गाउँपालिकाको तेस्रो सम्मेलनलाई सोमबार घलेभन्ज्याङमा सम्बोधनका क्रममा सांसद तामाङले डाक्टर महतलाई नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भए आफ्नै पहलमा विकास योजना ल्याएर मात्र चुनाव लड्न चुनौती दिए । 

काङ्ग्रेस नेता महतले गत शनिबार घ्याङ्स्वाँरामा तरुण दलद्वारा आयोजित वनभोज कार्यक्रममा सम्बोधनका क्रममा  नुवाकोटबाट चुनाव लड्ने घोषणा गरेपछि तामाङले जवाफका क्रममा पटकपटक मन्त्री, सांसद बनेर केही नगरेकाले अब चुनाव लड्न योजनासहित जनतामाझ आउन सुझाव दिए।

नेता तामाङले ०७४ मा जितिसकेपछि बजेट एकत्रित गरी सांसद विकास कोषबाट आफूले गुर्जेभन्ज्याङ-छहरे सडकमा १० करोड रुपैयाँ बजेट हाल्न लगाएपछि स्तरोन्नति भएको, गुर्जे-मानेभन्ज्याङ सडक, मध्यपहाडी लोकमार्गको काम आफूहरुकै पहलमा भएकाले केही योजनाका साथ चुनावी मैदानमा आउन सुझाव दिए । 

‘उनी (प्रकाशशरण महत) ले यहींबाट चुनाव लड्ने भन्नु भएको सुने । पहिले आफैंले पहल गरेर नयाँ योजना, काम गरेर देखाउनु अनि चुनाव लड्नु,’ नेता तामाङले भने । 

प्रतिक्रिया दिनुहोस्