दोस्रो चरणको पाइप लाइन परियोजना अगाडि बढ्दै
काठमाडौँ, पुस १५ । दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजना निर्माण कार्य अगाडि बढ्ने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बिच पेट्रोलियम पाइप लाइन अघि बढाउने विषयमा नेपाल र भारत संयुक्त सञ्चालक कमिटी (स्टेरिङ कमिटी) को बैठकले यस्तो निर्णय गरेको हो ।
सिलगुडी–झापा (चारआली) र अमलेखगन्ज–लोथर पाइप लाइन परियोजनालाई अगाडि बढाउने विषयमा छलफल भएको निगमले जनाएको छ । निगम प्रवक्ता मनोजकुमार ठाकुरले दुवै पक्षबिचमा पाइप लाइन परियोजना अगाडि बढाउने विषयमा छलफल भएकाले निर्माण कार्यको प्रक्रिया सुरु भएको जानकारी दिए । ४८ महिनाभित्रमा पाइप लाइन निर्माणको काम सक्ने गरी छलफल भएको ठाकुरले जानकारी दिए ।
बैठकमा दुवै पाइप लाइन निर्माण हुने स्थान क्लिरेन्स गर्ने, पाइप लाइनको रुटमा पर्ने रुख बिरुवा काट्ने विषयमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) लगायतका विषयमा छलफल भएको ठाकुरले जानकारी दिए ।
२०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला पेट्रोलियम पाइप लाइन विस्तारसँगै पूर्वाधार निर्माण गर्न दुई देशका सरकारबिच (जिटुजी) सम्झौता भएको थियो । भ्रमणका क्रममा नेपाल र भारतबिच पेट्रोलियम पूर्वाधार निर्माणका चार परियोजना २६ अर्ब रुपियाँ लागतमा पाँच वर्षभित्र सम्पन्न गर्ने गरी समझदारी भएको थियो ।
सम्झौता भएको लामो समयसम्म पनि अनुदान वा ऋणमा पाइप लाइन निर्माण गर्ने विषयको टुङ्गो लाग्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको थिएन । गत असारमा तीन वटा परियोजना आइओसीले बनाउने सहमति भएको थियो । आइओसीले तीन वटा परियोजनामा १७ अर्ब खर्च गर्ने छ भने एउटा भण्डारण डिपोमा नेपालले नौ अर्ब रुपियाँ लगानी गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
आइओसीले भारतको सिलगुडी–चारआली पेट्रोलियम पाइप लाइन, चारआलीमा इन्धन भण्डारण डिपो र अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन परियोजना निर्माण गर्ने सहमति भएको छ । चितवनको पेट्रोलियम भण्डारण डिपो भने निगमको लगानीमा बन्ने छ । मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको दोस्रो चरण अन्तर्गत अमलेखगन्ज–लोथर ६२ किलोमिटर लामो पेट्रोलियम पाइप लाइन निर्माण हुने छ ।
यस्तै भारतको सिलगुडीदेखि झापाको चारआलीसम्मको पाइप लाइन निर्र्माण भारतीय लगानीमा हुने छ । चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारणगृह निर्माण गरिने छ ।