नुवाकोटको शेरा दरबारको जग्गा हिनामिनाबारे विस्तृत अनुसन्धान हुँदै
काठमाडौँ, पुस १५ । पृथ्वीनाराण शाहले शीतकालीन दरबारका रूपमा स्थापना गरेको नुवाकोटस्थित शेरा दरबारको १६४ रोपनी १३ आना जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विस्तृत अनुसन्धान सुरु गरेको छ ।
शाहले तत्कालीन समयमा गर्मी छल्न बस्न बनाएको शेरा दरबारले चर्चेको हदबन्दीभन्दा बढी जग्गा नक्कली कम्पनी खडा गरी हिनामिना भएको पाइएपछि गृहमन्त्री रमेश लेखकले आइतबार सिआइबी प्रमुख दीपक थापासँग विस्तृत जानकारी लिएका थिए । आइतबार गृहमन्त्री लेखकले थापालाई गृह मन्त्रालयमै बोलाएर तत्काल विस्तृत अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् ।
सिआइबी प्रमुख थापाले भने, “शेरा दरबारको जग्गा हिनामिनाबारे गृहमन्त्रीज्यूले वस्तुस्थितिबारे जानकारी लिएका छन् । सिआइबीले हालसम्म गरेको अनुसन्धानबारे जानकारी पनि गरायौँ, अब विस्तृत अनुसन्धान सुरु हुन्छ ।’’ थापाका अनुसार शेरा दरबारको हदबन्दीभन्दा बढीको १६४ रोपनी १३ आना जग्गा अवैध रूपमा व्यक्तिका नाममा ल्याउन विभिन्न कम्पनी र त्यसका नक्कली सेयर सदस्यसमेत खडा गरेको पाइएको छ ।
भूमिसुधार ऐन–२०२१, मालपोत ऐन–२०३४ लागु भएपछि शेरा दरबारले चर्चेको १८४ रोपनी जग्गा पुस्तैनी सम्पत्तिका रूपमा हस्तान्तरण हुँदै तत्कालीन राजा त्रिभुवनकी छोरी हेलेन शाह र नातिनी जयन्ती शाहको नाममा आएको थियो । हेलेनको नाममा १२ रोपनी र जयन्तीको नाममा छ रोपनी नौ आना जग्गा नामसारी भएको र हदबन्दीभन्दा बढी रहेको १६४ रोपनी १३ आना सरकारी स्वामित्वमा आउनुपर्ने थियो ।
हदबन्दीभन्दा बढी जग्गा स्वतः सरकारको नाममा आउने व्यवस्था रहे पनि कृषि उत्पादन गर्ने प्रयोजनका लागि तत्कालीन समयमा गौरीशङ्कर फार्मिङ कम्पनीले भोगचलन सुरु गरेको पाइएको छ ।
गौरीशङ्कर फार्मिङबाट किर्ते कागजपत्रमार्फत विभिन्न चरणमा सेयर सदस्यहरूसमेत परिवर्तन गर्दै अन्नपूर्ण फार्मिङ कम्पनीले अवैध रूपमा उक्त जग्गा भोगचलन गर्दै आएको पाइएको छ । अन्नपूर्ण फार्मिङ कम्पनीको स्वामित्व हाल नुवाकोटकै विकेश श्रेष्ठ र उनका छोरा मनोबल श्रेष्ठको नाममा छ ।
नुवाकोटको विदुर नगरपालिका–२, साबिकको भैरवी गाउँ विकास समिति–७ मा रहेको सो जग्गा बिक्री गर्ने उद्देश्यले प्लटिङसमेत भइसकेको छ । श्रेष्ठ बाउछोराले सो जग्गा आफ्नो नाममा ल्याउन खडा गरेको अन्नपूर्ण फार्मिङ कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयमा पेस गरेको कागजपत्र र सेयर सदस्यसमेत अवैध रहेको खुलेपछि सिआइबीले किर्ते कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरेको हो ।
गौरीशङ्कर फार्मिङ कम्पनीबाट अन्नपूर्ण फार्मिङ कम्पनी परिवर्तन गर्दा र स्वामित्व हस्तान्तरणसमेत अपारदर्शी र बनावटी देखिएपछि सिआइबीले कम्पनी रजिस्ट्रारको कार्यालय र मालपोत कार्यालयमा पेस गरिएका कागजपत्र र इजाजत लिने र दिने दुवैमाथि अनुसन्धान अघि बढाएको हो ।
शेरा दरबारको जग्गा हिनामिना यसअघि नै जाहेरी परेपछि ब्युरोले प्रारम्भिक अनुसन्धान गरी उक्त जग्गा सरकारको नाममा ल्याउन भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदनसहित सुझाव दिएको छ । झन्डै चार महिना लगाएर तयार पारेको प्रारम्भिक अनुसन्धानमै सिआइबीले यसमा संलग्नमाथि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत लेखी पठाइएको जनाएको छ ।
सिआइबी उच्च स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसमा पहिल्यैदेखि चासो राखिरहेकाले अनुसन्धान प्रतिवेदन आयोगमा पठाई अनुसन्धान अघि बढाउन आग्रह गरिएको हो ।
सिआइबीको प्रारम्भिक अनुसन्धानमा २०६६ र २०६७ सालमा कम्पनीमा सेयरधनी थप्दै चार जनाबाट सात जना बनाइएको थियो । २०७२ सालसम्म अन्नपूर्ण फार्मिङ कम्पनीमा सात जनाबाट चार जनामा झारेर विकेश श्रेष्ठ, अजयकुमार सूर्यवंशी र श्रवलाल श्रेष्ठमा कायम गरिएको पाइएको छ । हाल सो कम्पनीबाट सूर्यवंशी र श्रेष्ठलाई समेत हटाएर विकेशले छोरा मनोबल श्रेष्ठलाई कम्पनीमा ल्याएको खुलेको छ । गोरखापत्रबाट