आज तमु ल्होसार मनाइँदै
काठमाडौ,पुस १५ । आज गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो ।
तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । विशेषगरी गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतमा यो पर्व भव्यताका साथ मनाइन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।
तमु ल्होसारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति लगायत विभिन्न उच्च पदस्थ व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन् ।
यस्तै आजै सोमबारे औंसी समेत परेको छ । सोमबार औंसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने गरिन्छ । यसरी स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रका आचार्य तोयराज नेपालले बताए । औंसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्त्वपूर्ण मानिन्छ ।