प्रहरीका सहयोगी रुम्बाको हत्यामा अनुसन्धान विभागका अधिकृतकै संलग्नता, पक्राउ परेका तीनै जना सार्वजनिक



काठमाडौ,पुस १४ । प्रहरीका कार्यलय सहयोगी राजकुमार रुम्बाको हत्या प्रकरणमा पक्राउ परेका तीन जना सार्वजनिक भएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय बाराले उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जितपुर सिमरा १९ घर भई जय माँ इन्जियरिङ वर्कसप सञ्चालन गरिरहेका संचालक २७ वर्षको पुरुषोत्तम कुमार दास, ईन्द्रजित कुमार चौहान र श्रीकान्त तिवारी छन् ।

पक्राउ परेका तिवारी राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरा बारामा कार्यरत राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत भएको खुलेको प्रहरीले जनाएको छ ।

गत पुस ०६ गते विहान बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं-११ स्थित बकुलिया रमौली लोसन्डा सडकखण्डको छेउमा बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको ग्रे रंगको कारमा चालक बस्ने सिटमा रुम्बाको शव फेला परेको थियो ।

रुम्बा बाराकै जितपुर सिमरा उपमहानगरपालिका वडा नं-०१ घर भई इलाका प्रहरी कार्यालय सिमरा बारामा दरबन्दी भई हाल विमानस्थल सुरक्षा गार्ड सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी हुन् । प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको मृत लाशको पोष्टमार्टमको क्रममा टाउकोबाट गोलीको बुलेट १ थान फेला परेको थियो । गोली फेला परेपछि प्रहरीले उनको हत्या भएको आशंकामा अनुसन्धान थालेको थियो ।

पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता भई बारा जिल्ला अदालत बाट ७ दिने म्याद थप लिई थप अनुसन्धान कार्य ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट भई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक रुम्बाले घाटीमा लगाएको सुनको सिक्रि १ थान, प्रतिवादी पुरुषोत्तम कुमार दासको वर्कसपबाट निजले लगाउने गरेको जिन्स पाईन्टको खल्तीबाट बरामद गरेको जनाएको छ । रूम्बाको पर्स १ थान पनि दासकै कालो रंगको झोला भित्रबाट बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनाबाट ६ थान मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दासले प्रयोग गर्ने गरेको ना १३ प ५४७ नम्बरको यमाहा कम्पनीको मोटरसाईक पनि प्रहरीले बराम गरेको छ । घटना पुर्व रिसिईबी र लुटपाटको उदेश्यबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्