क्यान्सर अस्पतालका कर्मचारी स्वतः स्थायी



भक्तपुर,पुस १४ । भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत १७० कर्मचारी स्वतः स्थायी भएका छन् । उक्त अस्पताललाई नेपाल सरकारले लिनुअघि नेपाल अर्बुद रोग निवारण संस्थाले सञ्चालन गर्दा स्थायी भई काम गरिरहेका कर्मचारी स्वतः स्थायी भएका हुन् ।

अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश, २०७७ अनुसार कर्मचारीहरू स्वतः स्थायी भएको जानकारी दिए । उक्त आदेश राजपत्रमा प्रकाशित भएको भन्दै उहाँले संस्थाले अस्पताल सञ्चालन गरेको समयका कर्मचारी स्वतः स्थायी भएको बताए ।

निर्देशक चालिसेले २०७७ पुस ६ गतेभन्दाअघि कायम रहेको भक्तपुर क्यान्सर अस्पतालमा स्थायी नियुक्ति पाई कार्यरत कर्मचारी समितिको सोही सेवा, तह र पदमा स्वतः स्थायी कायम रहने बताए । उनले करारका कर्मचारीलाई आवश्यकता र औचित्यका आधारमा समितिले करार सेवामा राख्न सक्ने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्