राष्ट्रिय च्याउ दिवस: नेपालमा च्याउको ईतिहास र वर्तमान, यस्तो छ आयातको तथ्यांक



काठमाडौं,पुस १४। राष्ट्रिय च्याउ दिवस आगामी पुस १५ गते आयोजना हुने भएको छ । च्याउ उत्पादक किसान संघ, नेपालले च्याउ मेला तथा प्रदर्शनीसहित दिवस मनाउन लागिएको हो । कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भृकुटीमण्डपमा मेला आयोजना गर्न लागिएको संघले शनिबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने मेलामा ४० ओटास्टलहरूमा च्याउसंग सम्बन्धि विभिन्न विषयहरूमा प्रदर्शनी रहने अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए । मेला आयोजना हुने दिन बिहान ७ बजे कालिमाटी तरकारी तथा फलफूल बजारबाट भृकुटीमण्डप ठुलो चौरसम्म मोटरसाईकल र्‍याली आयोजना गरिने भएको छ ।

मेलामा च्याउका बिभिन्न परिकारहरूको बिभिन्न स्टलहरूमा प्रदर्शनी गरिने समेत संघले जनाएको छ ।  गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको ब्यवहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा हेर्न सकिनेछ । बिभिन्न स्टलहरूमा भिन्न भिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको प्रदर्शनी, राष्ट्रिय कलाकारहरूको उपस्थितीमा विशेष सांस्कृतिक कार्यक्रम लगायत कार्यक्रम आयोजना गरिने अध्यक्ष कार्कीले जानकारी दिए ।

मेलामा प्रवेश निशुल्क रहेको र च्याउका परिकारहरू निशुल्क चाख्न पाइने  छ । मेलामा करिब १५ हजारले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । मेला आयोजना गर्नका लागि करिब २५ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको उनले बताए । 

नेपालमा हाल च्याउ खेतिमा करिब ३५ हजार किसानहरू आवद्ध रहेको समेत संघले जानकारी दिएको छ । नेपालभरको बिभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब १५ अर्ब रुपैयाँ हाराहारीमा रहेको अध्यक्ष कार्कीले जानकारी दिए । साथै नेपालमा अहिलेसम्म च्याउको बिउ उत्पादन गर्ने ल्याबको संख्या ६७ ओटारहेको उनले जानकारी दिए । 

संघका अनुसार नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लाहरूमा व्यावसायिक रुपमा च्याउ उत्पादन गर्ने किसानहरू रहेका छन् ।  च्याउ उत्पादक किसान संघ नेपालले २०७६ पौष ९ गते देखि पौष २९ गते सम्म मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गरेको थियो ।

‘पौष महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा पौष महिनाको कुनै एक दिनलाई च्याउ दिवसका रुपमा घोषणा गराउनका लागि संघ र च्याउ उत्पादक किसानले प्रयत्न गरिरहेको सन्र्दभमा मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ को कार्यक्रम २०७६ पौष १५ गतेका दिन  बागमति प्रदेशको राजधानी हेटौंडामा सञ्चालन भएको थियो,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो दिन च्याउ संघ र कृषकको अनुरोधलाई स्विकार गर्दै बागमति प्रदेश सरकारले प्रदेश स्तरमा च्याउ दिवसको बिधिवत रुपमा घोषणा गरेको संघले जनाएको छ । सोही अनुसार  हरेक वर्ष पौष १५ गते यस किसिमको कार्यक्रम आयोजना गर्दै आइरहेको संघका अध्यक्ष कार्कीले बताए । 

किसानले आफै च्याउ उत्पादन गर्ने र त्यसको उचित ब्यवस्थापन पनि आफैले गर्नुपर्ने बाध्यता रहेको संघले जनाएको छ ।  खुला बजार अर्थनितीका कारण नेपाली किसानहरूको उत्पादन बिश्व बजारका उत्पादनसंग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले बताए ।

देशैभर च्याउको कारोबार १५ अर्ब रुपैयाँ हाराहारी रहेको अध्यक्ष कार्कीले बताए । संघका अनुसार अहिले दैनिक गोलो च्याउ ८ देििख १० हजार केजी उत्पादन हुँदै आइरहेको छ । यस्तै कन्ये च्याउ ४० देखि ५० हजार केजी उत्पादन हुँदै आइरहेको संघले जनाएको छ । अब १० दिनपछि च्याउ सस्तिने समेत अध्यक्ष कार्कीले बताए । बढी उत्पादन भएर लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपरेको उनले बताए । सिताके च्याउको न्युन उत्पादन भइरहेको उनले बताए । 

च्याउको व्यवसायिक उत्पादनमा सरकारले वेवास्ता गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले जानकारी दिए । उनले सुरुवाती समयमा सामान्य सहयोग भएपनि  च्याउखेतीले व्यवसायिक रुप लिँदा सरकारले सहयोग नगरेको उनले बताए । 

हाम्रो जंगलमा बहुमूल्य च्याउन कुहिएर गइरहेको छ, त्यसलाई सरकारको पहलमा व्यवसायिक रुपमा उत्पादन गर्न थाल्नुपर्छ भनेर माग गर्दै आएका छौँ, तरसर सुनुवाई हुन सकेको छैन । साथै अनुसन्धान केन्द्र पनि आवश्यक भएको अध्यष कार्कीले बताए । 

उनले च्याउ दिवसलाई संघ सरकारले पनि घोषणा गरेर कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले किसानले करिब १८ घण्टा च्यउाउनमा काम हुने भएकाले एक दिन च्याउ उत्सावका रुपमा मनाउनका लागि सरकारले चासो दिनुपर्ने उनले बताए  । कृषि मन्त्रालयले बिमामा करिब ७५ प्रतिशत अनुदान दिएकोमा च्याउको बिमा गर्न बीमा कम्पनीहरूले मान्ने नगरेको गुनासो अध्यक्ष कार्कीले बताए । यसमा सहजीकरण आवश्यक भएको उनले बताए । 

अध्यक्ष कार्कीले च्याउ उत्पादन गर्नका लागि पनि उचित नीति आवश्यक भएको बताए । कुन किसिमको च्याउ खेती गर्ने ? त्यसको कसरी बजारीकरण गर्ने भन्ने विषयमा सरकारले नीति ल्याउनुपर्नेमा उनको जोड थियो । 

च्याउ आत्मनिर्भर बन्ने दिशामा अगाडि बढेको उनले बताए । डल्ले च्याउमा अब आत्मनिर्भर बन्ने अवस्था सिर्जना भइसकेको उनले बताए । दुई चार वर्षमै आत्मनिर्भर बन्न सकिने उनको दावी छ । तर सरकारले यसलाई उचित पहल गरिदिएर अगाडि बढ्न सक्नुपर्नेमा उनले जोड दिए । राज्यले सहयोग नगरिदिँदा यस्तो अवस्था नआउने उनको भनाइ छ ।

उनले भने, ‘आत्मनिर्भरताको यो यात्रामा सरकारले साथ दिएमा मुुलुक छिट्टै च्याउ आयात गर्नुपर्ने अवस्थाबाट निर्यात गर्ने अवस्थामा पुग्ने विश्वास छ,’ अध्यक्ष कार्कीले भने । विगतको तुलनामा आयात घटिरहेको समेसंघले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

च्याउको बारेमा 

च्याउ एक प्रकारको ढुसी हो, तर सबै ढुसी च्याउ होइनन् । च्याउले आफ्नो खाना आफै बनाउन सक्दैन । च्याउ जरा र पात नभएको, पूmल नफुल्ने र आँखाले नदेखिने, मसिनो धागो जस्तो रेसाहरूले जेलिएर बनेका हुन्छन् । यी रेसाहरूलाई अंग्रेजीमा “माईसेलियम” भनिन्छ । यिनीहरू कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छन् । च्याउ अति नै पोषिलो र स्वास्थ्यवद्र्धक खाद्य वस्तु हो । त्यसैले विश्वबजारमा यसको माग अत्यधिक रहेको छ । नेपालमा हाल गोभ्रे, कन्ये, सिताके, दुघे र राजा च्याउको  ब्यवसायिक रुपमा खेति गरिदैं आएको छ । 

नेपालमा धेरै जातका च्याउहरू पाइन्छन् तर यसको अध्ययन अनुसन्धान र विकास भने हुन सकेको छैन । नेपालमा बहुमुल्य जातका च्याउहरूको उत्पादन र निर्यातको प्रयाप्त संभावना हुदाँहुदै पनि सरकारको यसतर्फ ध्यान पूग्न सकेको छैन । 

नेपालमा हाल च्याउ खेतिमा करिब ३५ हजार किसानहरू आवद्ध भएका छन् । नेपाल भरको बिभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब १५ अर्बको हाराहारिमा रहेको छ । च्याउको बिउ उत्पादन गर्ने ल्याबको संख्या ६७ ओटारहेको छ । नेपालमा च्याउ भारतलगायत देशबाट बाट पनि आयात हुने गरेको छ जसको बिबरण यस प्रकार रहेको छ ।

नेपालमा च्याउको ईतिहास  

नेपालमा प्राचिन समयदेखि नै च्याउको उपभोग गरिदै आएको पाइन्छ । ब्यपसायिक रुपमा च्याउ उत्पादन नगरिएको अवस्थामा पनि वन जंगलमा उपलब्ध भएको च्याउ मानिसहरूले उपभोग गर्ने गरेको पाईन्छ ।

सव्रप्रथम कन्ये च्याउको उत्पादन र अनुसन्धान पश्चात् २०३०/३१ सालमा गोब्रे च्याउको खेती प्रविधि सम्बन्धि अनुसन्धान भएको हो । राष्ट्रिय कृषि अनुसन्धान परिषद् अन्तर्गत बाली रोग  विज्ञान महाशाखाबाट च्याउ खेती प्रविधि सम्बन्धि अध्ययन सफल भएपछि २०३७ सालबाट देशका विभिन्न स्थानका किसानहरूलाई च्याउ खेती प्रविधि सम्बन्धि तालिम दिई यसको विस्तार गर्ने कार्य भएको हो । २०३४/३५ सालबाट नै काठमाडौको बलम्बु, चापागाउ, दधिकोट हुंदै नेपालका बिभिन्न स्थानमा  निरन्तर रुपमा च्याउखेती गरिदै आइएको छ । 

बर्तमान समयमा च्याउ उपभोग गर्ने मानिसहरूको संख्या बृद्धि हुदै गएकाले यसको व्यावसायिक उत्पादन गर्ने किसानहरूको संख्या पनि दिनानुदिन बृद्धि हुदै गइहेको छ । हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लाहरूमा व्यावसायिक रुपमा च्याउ उत्पादन गर्ने किसानहरू रहेका छन् । आर्थिक अभियानबाट
 

प्रतिक्रिया दिनुहोस्