नक्कली डाक्टर बनी लुटपाट गर्ने व्यक्ति नुवाकोट पञ्चकन्याबाट पक्राउ



नुवाकोट,पुस १३ । नक्कली डाक्टर बनी लुटपाट गर्ने व्यक्ति नुवाकोट पञ्चकन्या गाउँपालिका ४ आरुखर्कबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका–२ हरिटोल ठेगाना भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डल रहेका छन् ।

निज मण्डलले पीडितलाई सामाजिक संजाल फेसबुक मार्फत साथी बनाई आफू डाक्टर हुँ, भनी भेटघाट एवं चिनजान गरी घरमा गई  सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई बेहोस बनाई कोठा भित्र रहेका  सुन तथा चाँदीका गरगहनाहरु (सिक्री, औठी, झुम्का,टप, मंगलसुत्र) लगायत नगद रु. ३,००,०००।– (तिन लाख) समेत चोरी गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुर (PRCB) बाट खटिएको प्रहरी टोलीले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दा वारदात स्थलको सीसीटिभी फुटेजमामा  देखा परेका व्यक्ति निज मण्डल भएको प्रहरीले जनाएको छ ।

जितेन्द्र मण्डललाई पक्राउ गरी चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाही अगाडि बढाइएको प्रहरी वृत सातदोबाटोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्