रजतपटको परिभाषा बदल्दै रङ्गकर्मी



काठमाडौ,पुस ११ । जीवन्त अभिनयको नवीनतम यात्रा आरम्भ गर्ने थलो रङ्गमञ्चबाट उदाएका रङ्गकर्मी नेपाली चलचित्र उद्योगकै रूपान्तरणको हिस्सा बनिरहेका छन् । सामान्यतः रङ्गमञ्च र रङ्गकर्मीलाई सामाजिक रूपान्तरणको ‘सानो’ एकाइका रूपमा मात्रै लिने चलचित्र जगत्को परिभाषा बदलेर रङ्गकर्मीले ठुला पर्दाका सर्वाधिक सफल अभिनेता, अभिनेतृका रूपमा आफूलाई स्थापित गर्न सफल भएका हुन् ।

रङ्गमञ्चलाई मनोरञ्जनसँगै सामाजिक विभेद, कुसंस्कार र कुरीतिविरुद्ध आवाज उठाउने स्थानका रूपमा लिइन्छ तर अहिले रङ्गमञ्चबाट उदाएका कलाकारले नेपाली चलचित्र क्षेत्रलाई नेतृत्वदायी भूमिका प्रदान गरिरहेका छन् । ‘चकलेटी हिरो’ मात्रै चल्छन् भन्ने भाष्य अन्त्य गर्दै अब्बल अभियनका माध्यमबाट नेपाली रजतपटमा सुनाम आर्जन गर्न सफल रङ्गमञ्चबाट उदाएका कलाकारले दाम पनि राम्रै कमाएका छन् । 

कलाकार अनुप बराल, दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने, विजय बराल, प्रवीण खतिवडा, सरिता गिरी, पशुपति राई हुँदै दिया मास्के र सरोज खनाललगायत रङ्गमञ्चकै उत्पादन हुन । अहिले उदीयमान रङ्गकर्मीले भाषा, मनोविज्ञान, समाज र तत्कालीन समयलाई नयाँ शैलीमा प्रस्तुत गरी दर्शकका मन जित्न सफल भएका छन् ।  कलाकार विजय बराल अभिनीत ‘पूर्णबहादुरको सारङ्गी’ अहिले सर्वाधिक कमाइ गर्ने चलचित्र भएको छ । कलाकार दयाहाङ राई अभिनीत ‘जारी’ का सबै प्रमुख कलाकार रङ्गमञ्चकै विद्यार्थी हुन् । सौगात मल्ल र नाजिर हुसेनको ‘अगस्त्य’, दयाहाङ र पशुपति राई अभिनीत ‘गाउँ आएको बाटो’ चलचित्रले दर्शकको मन जित्यो । आर्थिक रूपमा पनि सफल भए ।

नाटकसम्बन्धी कक्षाको बढोत्तरी

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति निशा शर्माले अहिले चलचित्रमा आएका कलाकार सबै नै रङ्गमञ्चबाटै आफ्नो करिअर सुरु गरेको बताइम । उनले भनिन, “भारतीय चलचित्र जस्तै यहाँ पनि सबै कलाकार नाटकबाट चलचित्रमा लागेका छन् । अहिले नाटक पढेर वा अभिनय गरेर आउनेहरू सशक्त भूमिका गर्न सक्छन् । त्यसैले रङ्गमञ्चमा नाटकसम्बन्धी कक्षा दिनेहरूको सङ्ख्या बढेको छ ।”

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति निशा शर्माले अहिले चलचित्रमा आएका कलाकार सबै नै रङ्गमञ्चबाटै आफ्नो करिअर सुरु गरेको बताइन । उनले भनिन, “भारतीय चलचित्र जस्तै यहाँ पनि सबै कलाकार नाटकबाट चलचित्रमा लागेका छन् । अहिले नाटक पढेर वा अभिनय गरेर आउनेहरू सशक्त भूमिका गर्न सक्छन् । त्यसैले रङ्गमञ्चमा नाटकसम्बन्धी कक्षा दिनेहरूको सङ्ख्या बढेको छ ।”

उनले नाटकलाई एउटा माध्यम बनाएर विद्यार्थीले त्यसको भरपूर उपयोग गर्न थालेको बताइन । उनका अनुसार अहिले रङ्गमञ्बाट चलचित्रमा गएका कलाकारको अभिनय शैली प्रायः एउटै देखिन थालेको छ । रङ्गकर्मी अशान्त शर्माले नेपालमा थिएटर एकेडेमी आवश्यक रहेको बताए । उनले अहिले रङ्गमञ्चबारे अध्ययन गर्न आइरहेका कतिपय विद्यार्थीलाई फिल्म खेल्ने हतारो रहेको बताए । उनले भने, “कतिपय रङ्गकर्मी हुन आउनेहरू प्राज्ञिक रूपमा सिक्न आएका होइनन् । रङ्गमञ्चलाई माध्यम बनाएर चलचित्रमा अभिनय गर्न पाउने अपेक्षा हो ।” उनले विशुद्ध रङ्गकर्मी सधैँ यसै क्षेत्रमा निरन्तर लागिरहने र यसले रङ्गमञ्चसँगै चलचित्रलाई समृद्ध बनाउने काम गर्ने बताए । उनले व्यावसायिक नाटक गर्नेलाई जीविकोपार्जन गर्न सजिलो हुने दाबी गरे ।

पछिल्ला वर्षमा नाटक मञ्चन गर्ने र हेर्ने दर्शक राजधानीबाहिर पनि बढिरहेका छन् । काठमाडौँमा मण्डला थिएटर, शिल्पी थिएटर, गुरुकुल, कौसी थिएटरमा नियमित रूपमा नाटक देखाउने गरिएको छ । पोखरा थिएटर र झापाको परिवर्तन थिएटरमा नियमित नाटक मञ्चन हुने गरेको छ । झापाको परिवर्तन थिएटरका अध्यक्ष कविता नेपालले भनिन, “मेहनत गरे अनुसार दर्शकको उपस्थितिले हामीलाई उत्साही बनाएको छ ।”

कलाकार एवं रङ्गकर्मी लुनिभा तुलाधरले रङ्गमञ्चमा दर्शकको उपस्थिति बाक्लिएको बताइन । उनले रङ्गमञ्चबाटै कला क्षेत्रमा प्रवेश गर्न प्रयुक्त सम्भावना रहेको बताइन । उनले भनिन, “थिएटरले दर्शकलाई प्रत्यक्ष मनोरञ्जन दिन्छ, युवा पुस्तालाई मन परेको कुरा पनि त्यही हो ।”

उनले रङ्गमञ्चबाट जीविकोपार्जन गर्न सकिने बताइन । उनले रङ्गमञ्चमा जम्न धैर्य र मेहनतपूर्वक काम गर्नुपर्ने बताइन । उनले भनिन, “नाटक गर्नु भनेको अरू काम गरे जस्तो हुँदैन । यो आकासे खेती जस्तै हो । सबै नाटकमा अभिनय गर्न पाइन्छ भन्ने पनि हुँदैन ।” गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्