टेक्सासको युलेसमा कृष्ण प्रणामी समुदायको अतिथि गृहसहितको मन्दिर र प्रणामी भिलेज बन्दै
युलेस सिटी (संयुक्त राज्य अमेरिका),पुस ११ । कृष्ण प्रणामी इन्भेस्टमेन्ट ग्रुप (केपीआईजी)को पहिलो साधारणसभा सम्पन्न भएको छ । संस्थाको साधारणसभा गत शुक्रवार संयुक्त राज्य अमेरिकाको युलेस सिटीमा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अधिकांश सदस्य, अतिथि र समुदायका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता थियो ।
दीप प्रज्वलन, शान्ति प्रार्थना, राष्ट्रिय गान (नेपाली समेत)सहित शुरू गरिएको कार्यक्रम आध्यात्मिकता, एकता र सांस्कृतिक विविधताको प्रस्तुतिको रूपमा रहेको थियो ।
कार्यक्रममा केपीआईजीका अध्यक्ष चन्द्र प्रसाईंले संस्थाका सफलता र भविष्यका योजनाबारे सभालाई जानकारी गराएका थिए । हालै सम्पन्न भएका उपलब्धिबारे प्रकाश पार्दै उनले आगामी दिनमा श्री कृष्ण प्रणामी मन्दिर र प्रणामी रिटेल सेन्टर निर्माण गरिने जानकारी दिए । यी दुई परियोजना निर्माणले समुदायको समृद्धि र एकताको केन्द्रबिन्दु बनाउने उद्घोष उनले गरे, जुन श्री कृष्ण प्रणामी मन्दिर र केपीआईजीको संयुक्त परियोजना भएको समेत उनले बताए ।
डीएफडब्ल्यू श्री कृष्ण प्रणाली हिन्दु समाज र केपीआईजीले हालै युलेस सिटीको हाइवे १० नजिक ४.१ एकड जमीन खरीद गरेको छ, जसमा २.७२ एकड श्री कृष्ण प्रणामी मन्दिरका लागि र १.३८ एकड केपीआईजीका लागि छुट्याइएको छ । यो परियोजनाले समुदायका लागि आध्यात्मिक विकास, सांस्कृतिक प्रवर्द्धन र व्यावसायिक अवसर सिर्जना गर्ने उद्देश्य लिएको छ ।
कार्यक्रममा युलेस सिटीकी मेयर लिण्डा मार्टिन र मेयर प्रो टेम टीका पौडेल प्रमुख अतिथि थिए । मेयर मार्टिनले नेपाली प्रणामी समुदायले आफ्नो लक्ष्य हासिल गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै समुदायको प्रगतिको लागि सहकार्यको महत्वमा जोड दिइन् । मेयर प्रो टेम पौडेलले नेपाली समुदायको प्रतिनिधित्व गर्दै सिटी काउन्सिलमा योगदान दिने आफ्नो भूमिकाबारे चर्चा गरे । नेपाली समुदायको पहिचान र प्रगतिका लागि सधैं सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
कार्यक्रममा श्री कृष्ण प्रणामी मन्दिरका अध्यक्ष तथा केपीआईजीका सञ्चालक नूरनाथ सुवेदी, बीओटीका अध्यक्ष एवं केपीआईजीका सञ्चालक डा. मिलन पौडेल र श्री बाईज्युराज महिला मण्डलीकी अध्यक्ष तथा केपीआईजीका सञ्चालक शारदा न्यौपाने सहभागी थिए । साथै, नेपाली समुदायका विशिष्ट व्यक्ति एनएसआईटीका अध्यक्ष राजेन्द्र वाग्ले, एनसीएससी बीओटीका अध्यक्ष प्रेम अधिकारी र एनसीएससी ईसीका उपाध्यक्ष छवि चापागाईं उपस्थित थिए ।
कार्यक्रममा सामाजिक सेवा तथा सहयोग प्रयोजनार्थ करीब ८ सय डलर संकलन भएको थियो । कार्यक्रम व्यवस्थापनमा सचिव मनोज अधिकारीले कार्यक्रम समन्वय गरेका थिए । कोषाध्यक्ष दिनेश न्यौपानेले वित्त व्यवस्थापन गरेका थिए । केपीआईजीका सञ्चालक सुजन खतीवडाले प्रमाणपत्र व्यवस्थापन, एसकेपीएमका पूर्वअध्यक्ष तथा केपीआईजीका सञ्चालकद्वय राजु हुमागाईले भोजन व्यवस्थापन र विमला ढकालले उद्घोषण गरेका थिए ।
कार्यक्रममा केपीआईजी सञ्चालक तथा डीएफडब्ल्यू प्रणामी इन्भेष्टमेन्ट गु्रपका अध्यक्ष दीपक ढकाल, श्री बाईज्युराज महिला मण्डलीकी संस्थापक अध्यक्ष तथा केपीआईजीका सञ्चालक उषा हुमागाई, पूर्वअध्यक्ष तथा केपीआईजीका सञ्चालक सीता ढकाल, एभरेस्ट क्रेडिट युनियनका प्रतिनिधि तथा केपीआईजीका सञ्चालक जनक भण्डारी, केपीआईजीका सञ्चालक सिभिल इन्जिनियर दीपेन्द्र तिमसिनाको सहभागिता थियो ।
कार्यक्रममा सिभिल इन्जिनियर डेभिड ग्रेगोरीले एसकेपीएम र केपिआइजीका महत्वपूर्ण परियोजनाको प्राविधिक पक्षबारे जानकारी दिएका थिए । कार्यक्रममा सिभिल इन्जिनियर प्रबिन के सीले तयार पारेको आर्किटेक्चरल एनिमेसन भिडियो समेत देखाइएको थियो ।
डीएफडब्ल्यू श्री कृष्ण प्रणामी हिन्दु समाज र केपीआईजीको मुख्य उद्देश्य समुदायलाई एकताबद्ध गर्दै आध्यात्मिक विकास, सामुदायिक सेवा र सांस्कृतिक प्रवर्द्धन गर्नु हो । श्री कृष्ण प्रणामी मन्दिर र प्रणामी रिटेल सेन्टरको निर्माणले अमेरिकाका नेपाली प्रणामी समुदायका लागि एक केन्द्रको भूमिका निर्वाह गर्नेछ ।
केपीआईजीको पहिलो साधारणसभाले एकता, समर्पण र सहकार्यको उदाहरण प्रस्तुत गरेको छ । संस्थाले आगामी दिनमा समुदायको सेवा गर्ने आफ्नो दृष्टिकोणलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
श्री कृष्ण प्रणामी मन्दिर निर्माणका लागि सर्भे, पहुँच सडक लगायतका लागि अनुमति प्राप्त भइसकेकाले छिट्टै निर्माण शुरु गरिने संस्थाले बताएको छ । यसको निर्माण सन् २०२९ सम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।