नुवाकोटका गणेशप्रसाद सिटौलाले निकाले शिक्षा सेवा आयोगमा पहिलो नम्बरमा नाम



नुवाकोट,पुस १० । भनिन्छ -‘प्रकृतिले विना भेदभाव भौतिक शरीरमा प्राण सञ्चार गरेर यस धर्तीमा जन्म दिएको हुन्छ । जसले अनवरत संघर्ष र मिहेनत प्रदर्शन गर्दछ अन्ततः ऊ सफल भएरै छाड्दछ । यस्तै भनाइलाई चरितार्थ दिलाएका छन् नुवाकोट पञ्चकन्या गाउँपालिका ५ भद्रुटारका गणेशप्रसाद सिटौलाले ।

सिटौलाले यसवर्षमा भएको निम्नमाध्यमिक तह गणित विषयमा बागमती प्रदेशमा एक नम्बरमा नाम निकाल्न सफल भएका छन् । विक्रम संवत २०४७ सालमा पिता डिल्लीप्रसाद सिटौला र माता कृष्णकुमारी सिटौलाको कोखबाट जन्मेका सिटौलाले सुरुमा भद्रुटारकै बच्छ्ला माध्यमिक विद्यालयबाट अध्ययन सुरुवात गरेका थिए ।

पढाइलेखाइमा अब्बल गणेशप्रसादले कक्षा ८ देखि १० कक्षासम्म अध्ययन बिदुर नगरपालिका २ मा रहेको भैरवी मावि बाट गरेका थिए भने स्नातक ग्रामीण आदर्श बहुमुखी क्याम्पस नेपालटार हुँदै स्नातकोत्तर महेन्द्र रत्न क्याम्पस ताहाचलबाट उत्कृष्ट श्रेणीमा गणित विषयमा पुरा गरेका हुन् ।

दाज्यु प्रल्हाद सिटौलाको स्थायी शिक्षण जागिरे जीवनलाई आदर्श मानेका गणेशले सुरुसुरुमा बोर्डिङ विद्यालयमा शिक्षण अनुभव समेटेको सुनाए । त्यसो त गणेशप्रसाद सिटौलाले शिवपुरी गाउँपालिका ६ नुवाकोटमा रहेको समुन्द्रादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापकका रुपमा ७ वर्ष कार्यभार सम्हालिसकेका छन् ।

अत्यन्तै सरल स्वाभावका गणेशप्रसाद पछिल्लो समय पञ्चकन्या गाउँपालिका वडा नम्बर २ कविलासमा रहेको शान्ति विद्या आधारभुत विद्यालयमा प्रावि स्थायी शिक्षकको रुपमा कार्यरत छन् । त्यतिमात्र होइन शिक्षक गणेशप्रसादका जीवनसङ्गीनी अनुष्का पाण्डेले समेत हालै शिक्षक सेवा आयोग उत्तीर्ण गरी स्थायी शिक्षकका रुपमा मनमैजु मावि काठमाडौमा कार्यरत छिन् ।

निमावि स्थायी शिक्षकको रुपमा बागमती प्रदेशबाट पहिलो नम्बरमा नाम निकालेपछि शुभेच्छुक र आफन्तजनको बधाईको ओइरो लागेको बताउने गणेशप्रसादले साझापथसंग भने- ‘विगतमा पनि कतै बेइमानी गरिएन अबको दिनमा नानीबाबुको शैक्षिक उन्नतिका लागि हरदम लागि परिरहन्छु।’

प्रतिक्रिया दिनुहोस्