मौसम बदली : वर्षा कम, आजदेखि सुधार हुने
काठमाडौ,पुस १० । नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले मंगलबारसम्म देशका धेरै जसो स्थानमा प्रभाव पारेको छ ।
पश्चिम न्यूनचापीय प्रणालीका कारण आकासमा बादल टम्म लागे पनि वर्षा भने न्यून परेको छ । यद्यपि काठमाडौँ उपत्यकालगायत केही स्थानमा मंगलबार साँझ सामान्य वर्षा भएको छ ।
गएराति पनि खासै वर्षा नभएको तर बदली भएको क्षेत्रको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । आजदेखि भने मौसम सुधार हुँदै जाने पनि उनले बताए । उनका अनुसार अहिले कर्णाली, गण्डकी र बागमती प्रदेशमा बदली भई बादल लागेको छ । लुम्बिनीमा आंशिक बदली छ ।
बागमतीमा पहाडी र हिमाली क्षेत्रमा बढी र कोसीको पश्चिम भू–भागमा बादल रहेको अर्यालले बताए । सुदूरपश्चिममा आंशिकदेखि साधारण बदली रहेको उनले बताए ।
मौसमविद् अर्यालले भने, “खासै पानी परेको देखिँदैन । पश्चिमा गएको २४ घण्टामा डडेलधुरामा नौ मिलिमिटर, दिपायलमा चार मिलिमिटर पानी परेको छ, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ । राति पनि हल्का हिमपात र वर्षा हुने देखिएको छ । बुधबारदेखि क्रमिक सुधार हुने देखिन्छ ।” बिहीबारसम्म खुल्ने र शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको पनि उनले बताए ।
यो बदलीले देशैभरि चिसो भने बढाउने उनले बताए । “हिउँ परेको ठाउँबाट आउने हावाले चिसो बढाउने हो, जता हावा जान्छ उतै बढी चिसो हुन्छ”, अर्यालले भने ।
उनले बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् । रासस