सिमेन्ट र डण्डीको मूल्यवृद्धिप्रति निर्माण व्यवसायी महासंघ असन्तुष्ट



काठमाडौं,पुस १० । निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले पछिल्लो एक महीनामा भएको सिमेन्ट र डण्डीको मूल्यवृद्धिप्रति असन्तुष्टि जनाएको छ । 

मूल्यवृद्धिप्रति असन्तुष्टि प्रकट गरेको महासंघले आफ्ना सदस्यहरू (निर्माण कम्पनी सञ्चालक)लाई चालू आयोजनाहरूमा सिमेन्ट र डण्डीको मूल्यवृद्धिको अनुपातमा दाबी गर्न मंगलबार पत्राचार गरेको छ । 

सिमेन्ट तथा डण्डी उत्पादकहरूले बिना कुनै कारण कार्टेलिङ गरी एक महीनामा पटक पटक गरी सिमेन्टमा प्रतिबोरा २०० रुपैयाँभन्दा बढी र डण्डीमा प्रतिकेजी १५ रुपैयाँ बढाएको महासंघले पठाएको पत्रमा उल्लेख छ । 

‘उक्त मूल्यवृद्धिको क्रम अझै जारी रहेकाले आ–आफ्ना चालू आयोजनाहरूमा मूल्यवृद्धि भएको अनुपातमा दाबीका लागि आफ्नो निर्माण कम्पनीको तर्फबाट यथाशीघ्र पत्राचार गर्नुहुन,’ महासंघले पठाएको पत्रमा उल्लेख छ । 

साथै महासंघले सिमेन्ट तथा डण्डी उत्पादकहरूले बिना कारण मूल्यवृद्धि गरिरहेको आरोप लगाएको छ । ‘मूल्यवृद्धिले यसरी नै निरन्तरता पाइरहेमा सम्पूर्ण निर्माण कार्य रोक्न बाध्य हुने व्यहोरा समेतको पत्राचार सम्बन्धित आयोजनाहरूमा गर्नहुन पनि यसै पत्रमार्फत जानकारी गराउँदछौं,’ पत्रमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्