भैरहवामा फेरि उडान गर्दै फ्लाई दुबई
भैरहवा,पुस ८ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट मङ्सिर ३० देखि उडान रोकेको फ्लाई दुबईले पुनः उडान सुचारु गर्ने भएको छ । मौसमको कारण देखाउँदै दुबई–भैरहवा उडान रोकेको फ्लाई दुबईले पुस २९ देखि पुनः उडान सुरु गर्ने तयारी गरेको हो ।
फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई दैनिक उडान गर्दै आएको थियो तर खराब मौसमका कारण देखाएर मङ्सिर ३० बाट उडान रोकेको थियो ।
फ्लाई दुबईको नेपालको जिएसए युनिभर्सल टुर्स एन्ड ट्राभल्सको बिक्री प्रमुख नवराज शाहीले अहिले पुस २९ देखि पुनः नियमित उडान गर्ने जानकारी दिए । दुबईबाट भैरहवा ओर्लने यात्रु राम्रै रहेको र दुबई जाने यात्रु पनि बढ्दै गएको शाहीले बताए ।
मौसममा खराबी हुँदा यहाँको विमानस्थल खुलेपछि मात्र दुबईबाट जहाज उड्ने गर्दा अन्य नियमित उडानसमेत प्रभावित भएकाले पनि अहिले मौसमकै कारण केही समय उडान रोकिएको शाहीको तर्क छ ।
उनले भने, “मौसम खराब हुँदा काठमाडौँ डाइभर्ट गर्नुपर्ने, भैरहवाकै आकाशमा चक्कर लगाइराख्नुपर्ने बाध्यता भएको थियो, अब भने त्यो बाध्यता नहुन सक्छ ।”