पासो थाप्ने सिकारी नै बाघको सिकार बनेपछि
नारायणगढ, पुस ८ । बाघलाई मार्न राखिएको पासोमा उल्टै सिकारी परेर बाघको सिकार बनेको घटना चितवनमा सार्वजनिक भएको छ । गत कात्तिक २ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तीनचुली मध्यवर्ती सामुदायिक वनको लक्ष्मीडाँडामा सिकारी नै बाघको सिकार भएको घटना आइतबार निकुञ्ज कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेशप्रसाद पन्तले बाघको सिकारमा नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय जितबहादुर थिङ परेको जानकारी दिए ।
उनका अनुसार थिङले बाघ मार्न पासो थाप्दै गर्दा आफैँ बाघको आक्रमणमा परेका हुन् । “बाघ मार्न थापिएको पासोमा सिकारी परेर बाघको सिकार भएका हुन् । बाघ मार्न गएछन्, उल्टै बाघले मारेछ,” उनले भने ।
“आफूले थापेको पासोमा परेको बाघलाई हेर्न नजिकै पुगेका थिङलाई बाघले पासो नै छिनाएर उम्किँदै आक्रमण गरेर मारेछ । उनीसँगै बाघको सिकार गर्न निकुञ्ज क्षेत्र छिरेका अमृत न्यौपाने भने रुखमा चढेर बाँचेछन् । सवारीसाधनमा प्रयोग हुने ब्रेकको तार लिएर वन क्षेत्रमा छिरेका थिङले वन क्षेत्रमै बाघका लागि पासो राखेर मार्ने उद्योग गरेको प्रमुख संरक्षण अधिकृत पन्तले बताए ।
“सँगै रहेका अमृत न्यौपाने रुखमा चढेर बाँचेछन् । उनले माथि चढेर मोबाइलबाट पासोमा परेको बाघको फोटो पनि खिचेका छन्,” उनले भने ।
गत कात्तिक २ गते थिङलाई बाघले आक्रमण गरेर मारेको हो । उनी लामो समयदेखि चोरीसिकारमा संलग्न रहेको निकुञ्जको दाबी छ । थिङ वन्यजन्तुको आपराधिक पृष्ठभूमिका व्यक्ति भएको निकुञ्जले जनाएको छ तर उनी मरेका दिन सञ्चार माध्यममार्फत भने घाँस काट्न जङ्गल जाने क्रममा बाघले आक्रमण गरेको भनी समाचार सार्वजनिक भएको थियो । मृतकका परिवारले बाघका कारण मृत्यु भएको भन्दै निकुञ्जको मध्यवर्ती समितिमा क्षतिपूर्तिका लागि माग पनि गरेका थिए । प्रमुख संरक्षण अधिकृत पन्तले घटनाक्रम रहस्यपूर्ण भएपछि आफूहरूले अनुसन्धान गरेको र वास्तविक कुरा बाहिर आएको बताए ।