प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौँ, पुस ६ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रसाईंको रिट जारी गरेको हो । फौजदारी आरोप अनुसन्धानका सिलसिलामा थुनामा रहेका प्रसाईंको हकमा उनका छोरा नीराजनले पुस २ गते रिट दर्ता गरेका थिए।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले प्रसाईंको हकमा रिट जारी भएको बताए । रिट जारीसँगै रिहाइका लागि अन्य कुनै सर्त तोकिए वा नतोकिएकोबारे सर्वोच्चले लिखित आदेश सार्वजनिक गरेको छैन । सर्वोच्चको एकल इजलासको आदेश अनुसार शुक्रबार प्रसाईंलाई अदालतमा उपस्थित गराइएको थियो । पुस ३ गते न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आदेश गरेको थियो । यसअघि पनि प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरण रिट दायर भए पनि अदालतले खारेज गरेको थियो ।
साइबर क्राइम मुद्दामा जिल्ला अदालत काठमाडौँले धरौटीमा रिहाको आदेश गरे पनि अन्य कसुर अनुसन्धानका लागि प्रसाईं तत्कालै पक्राउ परेका थिए । प्रहरीले प्रसाईंमाथि सङ्गठित अपराध र आपराधिक लाभ कसुरमा अनुसन्धान भइरहेकाले थुनामुक्त गर्न अस्वीकार गरेको थियो । प्रहरीले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनका छोरा नीराजनले सर्वोच्चमा रिट दर्ता गरेका थिए । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल सरकार गृह मन्त्रालय र जिल्ला अदालत काठमाडौँलाई रिटमा विपक्षी बनाइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा लगानी रहेको भन्ने कागजात तयार पारी वितरण गरेको आरोप प्रसाईंमाथि लगाइएको थियो । उक्त कागजात आफूले अन्य व्यक्तिबाट पाएको जवाफ बयानका क्रममा प्रसाईंले गरेका छन् । यस्तै अनुसन्धान जारी रहेकै अवस्थामा प्रसाईंको समूहबाट व्यवसायीलाई धम्क्याउने कार्यमा संलग्न रहेका एक व्यक्ति पक्राउ परेका थिए । उक्त कार्यमा पनि प्रसाईंको संलग्नता देखिएपछि थप अनुसन्धान भइरहेको छ ।