सूर्यदर्शन सहकारी ठगी प्रकरण : उन्नाइस जनालाई थप अभियोग
लेखनाथ, पुस ६ । देशका मुख्य सहरमा सहकारी खोली बचत र सेयर रकम हिनामिना गर्ने गितेन्द्रबाबु (जिबी) राईसहित १९ जनाविरुद्ध थप कसुरमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि अदालतबाट मुद्दा चलेका जिबीसहित १९ जनाविरुद्ध शुक्रबार पूरक अभियोगपत्र दर्ता गराएको हो ।
जिल्ला अदालत कास्कीका निमित्त स्रेस्तेदार खेमनारायण लामिछानेले यसअघि सहकारी ठगीमा मात्र मुद्दा चलाइएको अब सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण थपिएको बताए । “१९ जनै प्रतिवादीलाई अब सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग थप भएको छ । जिबी राईको मात्र हकमा राष्ट्र बैङ्क ऐन अनुसारसमेत कारबाही गर्न अभियोजन भएको छ ।”
सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले मुद्दा विचाराधीन रहेका राईसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको र अन्यको हकमा आइतबार मात्र नयाँ अभियोग आउने जानकारी दिए । “मुद्दा विचाराधीन रहेकाविरुद्ध पूरक अभियोग दर्ता गरियो, अन्यको हकमा आज भ्याइँदैन, आइतबार हुन्छ ।”
सहकारीपीडितले पूरक जाहेरी दिएपछि कास्की प्रहरीले थप अनुसन्धान गरी मङ्सिर २६ गते १९ जनाविरुद्ध पूरक प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी राई), पूर्वअध्यक्ष भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेललगायतमाथि प्रहरीले पहिलो चरणमा अनुसन्धान गरी मुद्दा दर्ता गरेको थियो ।
सहकारीका पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल, आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरुद्ध सहकारी ठगी मुद्दा अदालतमा विचाराधीन छ ।
यो ठगी प्रकरणका मुख्य मुख्य योजनाकार जिबीसहित ३७ जना फरार छन् । सूर्यदर्शनमा यसअघि एक अर्ब ११ करोड बिगो रहेकामा बढेर एक अर्ब ५१ करोड ४० लाख रुपियाँ बिगो कायम गरिएको छ । । प्रहरीले संसदीय समितिको निर्देशनबमोजिम अनुसन्धान गरी ५२ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।
६५ जनाविरुद्ध अनुसन्धान भएकोमा ठेगाना नखुलेका १४ जनालाई ठेगाना खुलेपछि प्रतिवादी बनाउन सिफारिस गरिएको अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । सूर्यदर्शन ठगी प्रकरणमा अहिलेसम्म नौ जना पुर्पक्षका लागि कारागारमा छन् ।
रविविरुद्ध आइतबार मुद्दा दर्ता हुने
गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलगायत विरुद्ध आइतबार मात्र कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले सूर्यदर्शन अनुसन्धानको अभियोगपत्र दर्ता आरम्भ भएको उल्लेख गरे ।
“पहिलो क्रममा प्राप्त भएको पूरक जाहेरी अध्ययन, विश्लेषण गरी आज (शुक्रबार) पूरक अभियोग दर्ता गरेका छौँ,” काफ्ले भन्छन, “सोमबार प्राप्त भएको थप प्रतिवेदन अध्ययन, विश्लेषण हुँदै छ, अब कार्यालय खुल्नेबित्तिकै त्यसको अभियोगपत्र लैजान्छौँ ।”
पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहनुभएका लामिछानेसहित पाँच जनाविरुद्ध अदालतले दिएको म्याद शुक्रबार सकिएको छ । यही अभियोगमा अनुसन्धानका लागि रास्वपा लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रामप्रसाद खनाल, लीला पछाई र कृष्ण गुरुङ प्रहरी हिरासतमा हुनुहुन्छ । लामिछानेलाई कात्तिक २ गते र जोशीलाई असोज ६ गते प्रहरीले पक्रेको थियो । प्रहरीले पुस २ गते बुझाएको उनीहरूविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीन अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।
संसदीय समितिको प्रतिवेदनले सूर्यदर्शन सहकारीबाट पाँच करोड ५८ लाख गोर्खा मिडियामा गएको उल्लेख गरेको थियो । देशभरका सहकारीबाट ६५ करोड गोर्खा मिडिया नेटवर्कमा लगी दुरुपयोग हुँदा लामिछाने त्यसको प्रबन्ध निर्देशक हुनुहुन्थ्यो । लामिछानेको नाममा समेत सूर्यदर्शन सहकारीबाट एक करोड रकम जम्मा भएको देखिएको छ । प्रहरीले लामिछानेलाई रुपन्देही, चितवन, पर्सा र काठमाडौँसमेत लगी बयान लिइसकेको छ ।