खानेपानी समितिमा लाखौँको अनियमितता



नेपालगन्ज, पुस ५ । बैजनाथ गाउँपालिका–४ मा रहेको नौवस्ता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा करिब ७५ लाख रुपियाँको अनियमितता भएको पाइएको छ । सो समितिभित्र करिब ७५ लाख रुपियाँको आर्थिक अनियमितता भएको कुरा छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । उपभोक्ता समितिभित्र व्यापक अनियमितता भएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेपछि गत भदौ ३० गते वडा भेलामार्फत वडा सदस्य बालकुमारी परियारको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

समितिले उपभोक्ता भेला आयोजना गरेर छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । सो समितिले तीन महिना लगाएर छानबिन गरी उपभोक्ता भेलामा प्रतिवेदन सार्वजनिक गर्दै करिब ७५ लाख रुपियाँको अनियमितता भएको ठहर गरेको संयोजक परियारले बताए । 

उहाँका अनुसार राजकुमार ढकालको अध्यक्षतामा रहेको नौवस्ता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा आर्थिक अनियमिततासँगै पदाधिकारीको नाममा रकम बेरुजुसमेत रहेको पाइएको छ । उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा झन्डै पौने करोड रुपियाँ हिनामिना भएको छानबिन समितिले जनाएको छ । उपभोक्ता भेलामा बोल्ने अधिकांशले समितिका वर्तमान अध्यक्ष तथा पदाधिकारीबाट संस्थाको रकम असुलउपर गर्नुपर्ने माग राखेका छन् । उपभोक्ता समितिको रकम अनियमितता गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्नेमा जोड दिँदै स्थानीय राजनीतिक दलका प्रतिनिधिले यसका लागि आफूहरूको साथ रहेको बताएका छन् । 

नेपाली कांग्रेसका स्थानीय नेता केशव शाहले संस्थाको रकम अनियमितता गर्ने जो सुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । नेकपा (एमाले) बैजनाथ गाउँपालिका सचिव नन्दलाल ढकालले छानबिन समितिले नै वास्तविकता बाहिर ल्याएको बताउँदै भ्रष्टाचार र अनियमितता गर्ने व्यक्तिलाई कसैले पनि संरक्षण गर्न नसक्ने प्रस्ट पारे । 

नेकपा (माओवादी केन्द्र) का अम्बरबहादुर बुढाले छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गरी रकम असुल्नुपर्ने सुझाव दिए भेलामा बोल्दै उपभोक्ता समितिका अध्यक्ष ढकालले आफ्नो बचाउ गर्दै आफूले मात्रै अनियमितता नगरेको बताए । 

सो भेलामा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, बैजनाथ–४ का वडाध्यक्ष प्रेमबहादुर शाहीलगायतले पनि आर्थिक अनियमितता गर्नेलाई कारबाही गरिनुपर्ने बताए।   

प्रतिक्रिया दिनुहोस्