गतवर्ष टिकटक बन्द हुँदा दूरसञ्चार सेवा प्रदायकहरूलाई १ अर्ब रुपैयाँ घाटा : एनसेल
काठमाडौं,पुस ५ । लोकप्रिय मोबाइल एप टिकटक प्रतिबन्ध हुँदा नेपालका दूरसञ्चार सेवा प्रदायकहरूलाई करीब १ अर्ब रुपैयाँ बराबर घाटा लागेको एनसेलले जनाएको छ ।
बुधवार पत्रकारमाझ दूरसञ्चार क्षेत्रको वर्तमान अवस्थाबारे प्रस्तुति दिँदै निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले टिकटक प्रतिबन्धका कारण दूरसञ्चार कम्पनीहरूलाई वार्षिक अनुमानित १ अर्ब २० करोड रुपैयाँ घाटा लागेको जनाएको हो । तर, यस्तो प्रतिबन्ध १० महीना भएकोले १ अर्ब घाटा हुन आउने कम्पनीको भनाइ छ ।
‘हामीले टिकटक सञ्चालनमा रहँदा त्यसमार्फत हुने डेटा उपभोग र प्रतिबन्ध लागेपछि घटेको डेटा उपभोगलाई आधारमा मानेर अनुमानित वित्तीय प्रभाव सार्वजनिक गरेका हौं,’ कम्पनीका एक अधिकारीले भने, ‘लोकप्रिय एपमा प्रतिबन्ध लाग्दा वा त्यसमा समस्या आउँदा हाम्रो डेटा उपभोग पनि घट्छ र त्यसले हाम्रो जस्तो कम्पनीको वित्तीय अवस्थामा असर गर्छ ।’
२०८० कात्तिक २७ मा तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि टिकटकले प्रतिबन्ध फुकुवा गर्न बारम्बार अनुरोध गर्दै आएको थियो ।
सरकारले गत भदौ ६ गते निर्देशिकाबमोजिम आधिकारिक रूपमा दर्ता हुनुपर्ने लगायतका शर्तसहित प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको कार्यान्वयन गत भदौ २१ गते नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकहरूलाई टिकटक चलाउन दिन चिठी लेखेपछि भएको थियो ।
नेपालमा टिकटक प्रयोगकर्ता २२ लाख रहेको अनुमान छ ।