एनपीएलको विजेता टोलीले १ करोड १० लाख रुपँयाँ पुरस्कार पाउने
काठमाडौ,पुस ३ । जारी नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टोलीले १ करोड १० लाख रुपँयाँ पुरस्कार पाउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलवार प्रेस विज्ञप्ति जारी गरी प्रतियोगिताका विजयी टोली लगायतले पाउने पुरस्कार राशि घोषणा गरेको हो ।
प्रेस विज्ञप्तिअनुसार प्रतियोगिताको उपविजेताले ५१ लाख रुपैयाँ पुरस्कार पाउने छ । यस्तै, तेस्रो र चौथो हुनेले क्रमश: २५ लाख र १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
जारी लिगमा सहभागी आठ टोलीमध्ये ४ टोली प्लेअफमा पुगेका छन्, जसमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज् र कर्णाली याक्स् छन् ।
प्लेअफका खेलहरू बुधवार (भोलि)देखि शुरु हुनेछन् । भोलि बिहान शुरु हुने प्लेअफअन्तर्गतको इलिमिनेटरमा चितवन र कर्णाली प्रतिस्पर्धा गर्दैछन् । इलिमिनेटरमा समूह चरणको अंकतालिकामा तेस्रो र चौथो रहेको टोलीबीच प्रतिस्पर्धा हुन्छ । यो खेलमा पराजित टोली चौथो हुनेछ ।
भोलि नै हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरबीच प्रतिस्पर्धा हुने भएको छ । यी दुई टोली अंकतालिकामा पहिलो र दोस्रो छन् ।
इलिमिनेटरको विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टोलीले बिहीवार दोस्रो क्वालिफायर खेल्नेछ । यो खेलमा पराजित हुने टोली तेस्रो हुनेछ ।
पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरका विजेता टोलीहरूले आगामी शनिवार फाइनल खेल्नेछन् ।